आजबाट विश्वकपमा क्वार्टरफाइनलका खेलहरू, ब्राजिल-क्रोएसिया र अर्जेन्टिना-नेदरल्याण्ड्स भिड्ने

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन्। आठ टोली सम्मिलित यस चरणमा आज दुई खेल हुँदैछन्।
आजको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच हुनेछ। खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ।
ब्राजिल पाँच पटकको विश्वकप विजेता हो। यस्तै क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। यसपटक ब्राजिल उपाधिको बलियो दावेदार हो। हालसम्मको खेलमा पनि ब्राजिलको प्रदर्शन बलियो देखिएको छ।
यस्तै आजको दोस्रो खेल राति १२ बजेपछि अर्थात् १२:४५ मा हुनेछ। दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्डबीच हुनेछ।
अर्जेन्टिना दुई पटकको विश्वकप विजेता टोली हो। अर्जेन्टिना पनि यस पटक उपाधिको दावेदार मानिएकोमा पहिलो खेल नै हारेपछि भने 'टिम गेम' कमजोर रहेको विश्लेषण हुँदै आएको छ।
यस्तै नेदरल्याण्ड्स यसपटक 'टिम गेम' बलियो भएको टोली हो। सन् २०१४ को विश्वकपमा नेदरल्याण्ड्स अर्जेन्टिनासँग सेमिफाइनलमा भिडेको थियो। त्यसयता विश्वकपमा यी दुई टोलीको यो पहिलो भेट हो।
आज नेदरल्याण्ड्स सन् २०१४ को हारको बदला लिने दाउमा हुनेछ। यस्तै अर्जेन्टिना भने उसको टोलीको महान् खेलाडी लियोनल मेस्सीको लागि विश्वकप उपाधि जिताउने सपनामा एक पाइला अघि बढ्ने प्रयासमा हुनेछ।
मंसिर २३, २०७९ शुक्रबार ०९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।