स्कटल्याण्डसँग हार्याे नेपाल, एकदिवसीय मान्यता कायम राख्ने सम्भावना पनि टर्दै

काठमाडौं : आईसीसी विश्वकप लिग-२ काे त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा बिहीबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्याे।
स्कटल्याण्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ तथा जर्ज मुन्सिले ४५ रन बनाए।
कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिचि बेरिङ्टन १२ रनमा अविजित रहे।
नेपालका लागि गुलसन झा र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो।
नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए। सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए।
ललित नारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्कटल्याण्डका मार्क वाट,ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए।
७ टोली सहभागी विश्वकप लिग-२मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ।
नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। हारसँगै नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
शीर्ष पाँचमा रहेर एक दिवसीय मान्यता कायम राख्न पनि अबका बाँकी रहेका १२ खेलमा कम्तीमा ९ खेलमा जित आवश्यक छ।
मंसिर २२, २०७९ बिहीबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।