‘क्यामेरा र बुम बोकेर हिड्ने सबै पत्रकार हुन्?’

‘क्यामेरा र बुम बोकेर हिड्ने सबै पत्रकार हुन्?’

काठमाडौं : अनलाइन पत्रकार संघको १५ औं स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अनलाइन पत्रकारिताले सूचनालाई सहज बनाएसँगै पत्रकारहरूलाई थ्रेट बढाएको बताएका छन्।

‘गालीगलौज सामान्य हुन थालेको छ। पोर्टलमै अनधिकृत रूपमा प्रवेश गरि समाचार नै डिलिट गर्ने काम भएको छ,’ उनले भने, ‘केही समयअघि उकेरा डटकममा जसरी समाचार छेडखानी गरियो यो जघन्य अपराध हो। प्रेस स्वतन्त्रता माथिको हमला हो।'

पत्रकार किशोर नेपालको सम्पूर्ण सामाजिक सञ्जाल ह्याक गरिनुलाई महासंघले गम्भीर रूपमा लिएको उनले बताए।

‘पत्रकार किशोर नेपालको इमेलदेखि सामाजिक सञ्जाल ह्याक गरिएको छ। यसलाई पनि हामीले गम्भीर रूपमा लिएका छौँ,’ उनले थपे, ‘ पत्रकार महासंघले यस्ता थ्रेटविरुद्ध प्राविधिक टोलीसँग समन्वय गरेर काम गरिरहेको छ।’

महासंघका महासचिव रोशन पुरीले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट बढेको दाबी गरे।

‘स्वतन्त्र उम्मेदवार र स्वतन्त्र पार्टीको उदयसँगै अनलाइन पत्रकारितामा थ्रेट बढेको छ,’ उनले भने, ‘यो नयाँ खालको चुनौती भएकाले हामीले गम्भीर रूपमा लिएका छौँ।’

अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले अनलाइन मिडियाले उत्पादन गरेको कन्टेन्ट र अनलाइन मिडियाप्रतिको आक्रमण अहिले मुख्य चुनौती रहेको बताए।

‘अपवादबाहेक अनलाइन मिडियाले पत्रकारिता आचारसंहिताभित्र रहेर नै कन्टेन्ट उत्पादन गरेका छन्,’ उनले भने, ‘तर सामान्य घरझगडालाई ठूलो इस्यु बनाएर युट्युबमा भिडियो राख्ने कन्टेन्ट क्रिएटर र मिहिनेत गरेर समाचार लेख्ने पत्रकारलाई आम रूपमा एकै बास्केटमा हालेर हेर्न थालिएको छ, जुन गलत छ हो।’

कन्टेन्ट क्रिएटर र पत्रकार एकै नभएको भन्दै उनले क्यामेरा र बुम बोकेर हिँड्ने पत्रकार भए/नभएको छुट्याउनुपर्ने बताए।

‘अहिले हामीले चिर्नुपर्ने विषय नै कन्टेन्ट क्रिएटर र पत्रकार एकै होइनन् भन्ने हो,’ उनले थपे, ‘सबै कन्टेन्ट क्रिएटर पत्रकार होइनन्। क्यामेरा र बुम बोकेर हिड्ने सबै पत्रकार होइनन्?’

त्यस्तै ढुंगानाले अनलाइनमाथिको आक्रमणलाई सामान्य रूपमा नलिन महासंघ र प्रेस काउन्सिललाई आग्रह गरे।

‘मै काम गरेको उकेरा अनलाइनमा अनधिकृत रूपमा व्यक्तिहरू प्रवेश गरेर कन्टेन्ट डिलिट गर्ने, अनावश्यक फोटो राख्ने काम गरियो। यसअघि काठमाडौंप्रेस अनलाइनमा पनि कन्टेन्ट डिलिट गरिएको थियो। यो सामान्य आक्रमण होइन। पत्रकार महासंघ र प्रेस काउन्सिल तथा सरोकारवालाहरूले यसलाई सामान्य रूपमा नलिन आग्रह गर्दछु।’

त्यस्तै, संघका पूर्वअध्यक्ष शिव सत्यालले अनलाइनमा समाचार डिलिट गर्ने विषय नियतवश मिडिया हाउसले पनि गर्नसक्ने भन्दै संघ तथा महासंघले त्यसलाई हेर्ने स्थायी संरचना बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रेस काउन्सिल बोर्डका सदस्य रामप्रसाद दाहालले नैतिक हिसाबले हेर्दा अनलाइन पत्रकारितामा चुनौती देखिएको बताए।
‘अनलाइन पत्रकारितालाई अन्य माध्यमको पत्रकारिताभन्दा फराकिलो ढंगबाट हेर्न जरुरी देखिन्छ। अनलाइन पत्रकारितामा देखिएको चुनौतीलाई हामीले चिर्नुपर्छ र अनलाइन पत्रकारिताले आफ्नो दायरा फराकिलो बनाउनुपर्ने देख्छु।’

अनलाइन पत्रकार संघका पूर्वअध्यक्ष प्रवेश सुवेदीले निर्वाचन आयोगको केटाकेटीपन देखिएको भन्दै आलोचना गरेका थिए। त्यस्तै उनले प्रेस काउन्सिललाई अनलाइन बन्द गर्ने अधिकार कून कानूनले दियो भनि प्रश्नसमेत गरेका थिए। 

जवाफमा काउन्सिलका बोर्ड सदस्य दाहालले मिडियाकै हितको लागि काउन्सिल निरन्तर लागिरहेको बताए।

त्यस्तै, पत्रकार महासंघ एशोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठराज पराजुलीले युट्युबमा आउने कन्टेन्टले समग्र पत्रकारिता बदनाम गरेकाले यसलाई छिट्टै चिर्नुपर्ने तर्क गरे।

कार्यक्रमको पहिलो चरणमा अथितिहरूले मन्तव्य राखे भने दोस्रो चरणमा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठले ‘निर्वाचनमा के देखियो? अनलाइन मिडिया र सामाजिक सञ्जालमा सूचना र प्रविधि’ विषयमा विशेष प्रस्तुति दिए।

श्रेष्ठले कसरी पत्रकार नै मिथ्या र भ्रममूलक समाचार शेयर गरे, नेपालमा घटेको घटनामा गुगलबाट तानेर कसरी बेअर्थको फोटो राख्छन् लगायतका बारेमा प्रस्तुति दिएका थिए। निर्वाचनको बेला झन् धेरै यस्ता भ्रमपूर्ण सूचना फैलाएका केही उदाहरणसमेत उनले देखाए।

त्यस्तै, कार्यक्रममा निर्वाचनताका निर्वाचन आयोगको सूचना शाखामा काम गरेका रिसर्चर किरण चापागाईंले निर्वाचनको समयमा आयोगले सञ्चारमाध्यमसँग गरेको समन्वयबारे आफ्नो  अनुभव सुनाएका थिए।

सहभागीले आयोगले सेतोपाटी डटकममा समाचार हटाउन र ‘नो नट अगेन’ फेसबुक बन्द गर्न दिएको निर्देशनको बारेमा जिज्ञासा राखे। जिज्ञासाको जवाफ दिँदै चापागाईले सेतोपाटीलाई दिईको निर्देशन गलत भएको महसुस गरी माफी मागेको बताए।

यस्तै, नो नट एगेनको पेज स्पोन्सर हुन थालेपछि स्वस्पफुर्त र संगठित तवरले उम्मेदवारमाथि आक्रमण भएकाले स्पष्टीकरण सोध्नुपरेको तर्क गरे।

मंसिर २२, २०७९ बिहीबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।