सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि रवि खड्का शीर्षस्थानमा 

सुर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि रवि खड्का शीर्षस्थानमा 

काठमाडौं : सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित रवि खड्का शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। 

३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्। लिडर रविलाई दवाव दिएका भुवनले दोस्रो दिन रविले जतिकै ४–अन्डर ६४ अंक जोड्दा समग्रमा ९–अन्डर १ सय २७ को स्कोरमा दोस्रो स्थानमा छन्।

लगातार दोश्रो दिन १–अन्डर ६७ खेल्दै समग्रमा २–अन्डर १ सय ३४ स्कोरका साथ रमेश अधिकारी तेस्रो स्थानमा उक्लिएका छन्। शुक्रबहादुर राई, प्रदीप कुमार लामा र राजेन्द्र श्रेष्ठ प्रधान समग्रमा इभन–पार १ सय ३६ को स्कोरमा संयुक्त रूपमा चौंथो स्थानमा छन्।

दाबेदार मानिएका शुक्रले खराब प्रदर्शन गर्ने क्रममा ३–ओभर ७१ मा दोस्रो दिनको खेल सकाए। प्रदीप र राजेन्द्रले समान २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे।

यसैगरी समग्रमा १–ओभर १ सय ३७ सहित कृष्णमान राजबाहक सातौं तथा २–ओभर १ सय ३८ को नतिजामा सुर्य प्रसाद शर्मा र जयराम श्रेष्ठ संयुक्त रूपमा आठौं स्थानमा रहेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको प्रतियोगिताको दोस्रो दिन पनि रविले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए। पहिलो, तेस्रो, चौंथो र छैटौं होलमा बर्डी प्रहार गर्दा नवौं होलमा एक सट खेर फाले।

चनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए। यसपछि १४औं र १७औं होलमा एक(एक सट बचाए पनि १६औं होलको बोगीले ब्याक नाइन १–अन्डर ३३मा पुरा गरे। 

भुवनले बुधबार बोगीरहित राउण्ड खेले। उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाउने क्रममा दोस्रो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं होलको अर्को बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए। 

तेस्रो स्थानमा उक्लिएका रमेश अधिकारीले १–अन्डर ६७ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन १–अन्डर ३३ मा पूरा गरे। उनले पहिलो, तेस्रो, चौथो र नवौ होलमा बर्डी प्रहार गर्दा सातौ होलमा बोगी र पाँचौ होलमा डबल बोगीको सामना गरे। ब्याक नाइन इभन(पार ३४ मा सकाए।

११औं र १३औं होलमा एक–एक सट बचाए भने १५औं र १७औं होलमा एक–एक सट खेर फाले।

एमेच्योरतर्फ अजित बिके समग्रमा ६–ओभर १ सय ४२ सहित शीर्षस्थानमा छन्। उनले बुधबार ४–ओभर ७२ मा खेल सकाए। दोस्रो स्थानमा रहेका सुरेश तामाङ र तेश्रो स्थानका प्रज्जवल गुरुङ अजित भन्दा १७ स्ट्रोकले पछि छन्। 

३६ होलको खेल सकिदा १५–ओभर १५१ सम्म स्कोर बनाउने २१ प्रोफेसनल खेलाडीले कट बनाएका छन्। एमेच्योरतर्फ भने चार खेलाडीले कट बनाउदा कुल २५ खेलाडी अन्तिम दुई चरणको खेलको लागि छनोट भएका छन्। 

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपविजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

मंसिर २२, २०७९ बिहीबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।