प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार प्रकरण: बालबालिकाको न्यायको साथमा रहेको बालअधिकारका लागि राष्ट्रिय अभियानको दावी

प्रधानाध्यापकद्वारा यौन दुर्व्यवहार प्रकरण: बालबालिकाको न्यायको साथमा रहेको बालअधिकारका लागि राष्ट्रिय अभियानको दावी

काठमाडौं: बाल यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकविरुद्ध आफूहरू बालबालिकाको न्यायको लागि साथमा रहेको बालअधिकारका लागि राष्ट्रिय अभियानले जनाएको छ। हिजो एक विज्ञप्ति जारी गर्दै अभियानले मनोहर माविका प्रधानाध्यापकविरुद्ध कक्षा ८, ९ र १० का विद्यार्थीहरूले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त भएपछि आफूहरू निरन्तर बालबालिकाको साथमा रहेको जनाएको हो।

यस क्रममा गत मङ्सिर १६ गते सो विद्यालयका बाल संरक्षण शिक्षक र बालक्लबसहित बैठक बसेको र त्यहाँ विद्यार्थीहरूले सो कुरा विगत दुई वर्षदेखि पटक पटक उठाउँदा समेत उल्टै कुरा उठान गर्ने विद्यार्थीलाई विद्यालयबाटै निष्काशन गर्ने गरेको, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूसहित बैठक बस्दा पनि विषयवस्तु अन्यात्र मोड्ने काम भएको विद्यार्थीहरूले बताएको अभियानले जनाएको छ।

यस्तै नगरपालिकाको नगर बाल सञ्जालमार्फत आवाज उठाउँदा समेत कुनै सुनुवाइ नभएको र विद्यालयका शिक्षकहरूसमेत  आफूहरूको हकहितको पक्षमा नबोलेको कुरा विद्यार्थीले जानकारी गराएको अभियानको विज्ञप्तिमा उल्लेख छ।

यस्तै मङ्सिर १८ गते सो विद्यालयका विद्यार्थीहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरी बाल हेल्पलाइन १०९८ (सिविन संस्था), टोखा नगरपालिकाका उपमेयर, राष्ट्रिय बालअधिकार परिषद्समेतलाई जानकारी गराउँदा कुनै पनि निकाय उक्त दिन विद्यालयमा आउने र तत्काल प्रकृया चालेको नदेखिएको अभियानको दावी छ।

भोलिपल्ट मङ्सिर १९ गते भने विद्यालयमा उपमेयर, वडाअध्यक्ष, विद्यालय व्यवस्थापन समिति, बाल हेल्पलाइन, प्रहरी र अन्य संघ संस्थाहरूको बैठक बसी आरोपीलाई कानूनी दायारामा ल्याउने विषयमा छलफल भएको बताइएको छ। यस्तै छलफल हुनुपूर्व पनि असम्बन्धित मनिसहरूलाई विद्यालयभित्र प्रवेश गराउने र विद्यार्थीहरूलाई उत्तेजित बनाउने र अभियान पदाधिकारीहरूलाई प्रहरी परिचालन गरी विद्यालयबाट निकाल्ने समेत प्रयास भएको विज्ञप्तिमा उल्लेख छ।

सोही दिन पीडित विद्यार्थीहरूका अभिभावकका तर्फबाट प्रहरीमा लिखित रूपमा जाहेरी समेत दर्ता भएको थियो। तर, जाहेरीको तीन दिन बितिसक्दा समेत प्रहरिले आरोपीलाई हिरासतमा लिन नसकेको अभियानले जनाएको छ।

अभियानकी सचिवालय सदस्य सोनी भट्टराईले यसबीचमा आरोपी शिक्षकले पीडित बालबालिका र उनीहरूका अभिभावकलाई पटक-पटक फोन गरी डर र प्रलोभन दिँदै आएको बताएकी छिन्। उनले विज्ञप्तिमार्फत विद्यालयका शिक्षकहरू र कर्मचारीहरू समेतले विद्यार्थीलाई चुप बस्न, निज शिक्षकलाई माफी दिन धम्क्याउने काम भइरहँदा विद्यालयमा शान्त वातावरणमा पठनपाठन हुन नसकिरहेको बताएकी छिन्।

प्रहरीले 'हामी आरोपीलाई खोजी गरिरहेका छौँ' भन्ने बाहेक राज्य र सरकारको उपस्थिति शून्यप्राय रहेको अभियानको दावी छ।

यतिसम्मकी बाल हेल्पलाइन जाहेरीको दिनमा उपस्थित भए पनि त्यसपछि पीडित बालबालिकाहरूसँग कुनै सम्पर्कमा समेत नभएको विज्ञप्तिमा उल्लेख छ। टोखा नगरपालिकाकी बाल कल्याण अधिकारी १८ गतेको छलफलका दिन एकैछिन देखापरे पनि छलफल समेत नसकी आफू १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको मिटिङमा जानुपर्ने भन्दै निस्किएको बताइएको छ।

बालअधिकारका लागि राष्ट्रिय अभियानले यस घटनाबाट स्थानीय सरकार, संघीय सरकार र राज्य संयन्त्र कुन हदसम्म असंवेदनशील र कमजोर रहेछ भन्ने दृष्टान्त उजागर भएको बताएको छ। पीडित विद्यार्थीहरू त्रासमा बसिरहेको र उक्त त्रासले पीडितले न्याय नै नपाउने हो कि भन्ने चिन्ता समेत थपेको अभियानको धारणा छ।

हाल पीडित बालिकाहरूको संरक्षण तथा न्यायका लागि अखिल क्रान्तिकारी भौतिक रूपमा ऐक्यवद्धता जनाएको छ। यस्तै सम्पूर्ण पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, संघसंस्था, बालक्लब पूर्व सदस्य, विद्यार्थी संगठनहरू लगायत आम सचेत नागरिकहरूलाई साथ, समर्थन र ऐक्यवद्धताका निम्ति अभियानले अपिल गरेको छ।

मंसिर २२, २०७९ बिहीबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।