पुष १ गतेबाट प्रदूषण जाँच पास नहुने गाडी चलाए एक लाखसम्म जरिवाना

पुष १ गतेबाट प्रदूषण जाँच पास नहुने गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौं: वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ। विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो।

अबका दिनमा विभागले गाडीको धुवाँ निष्काशनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत जनाएको छ। पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन्। एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिवाना हुने सूचनामा उल्लेख छ। छड्के जाँचमा प्रदूषण जाँचपासको रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ।

साथै विभागले कसैले टोल छिमेकमा खुलारूपमा फोहर जलाउने तथा खुलारूपमा फोहर जलाएको पाइएमा गोप्यरूपमा जानकारी दिनसमेत आग्रह गरेको छ। यसरी खुलारूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ।

मंसिर २२, २०७९ बिहीबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।