आज यःमरी पुन्हि, उधौली पर्व र खसआर्य समुदायको कुलपूजा गर्ने दिन

आज यःमरी पुन्हि, उधौली पर्व र खसआर्य समुदायको कुलपूजा गर्ने दिन

काठमाडौं: आज मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले ‘यःमरी पुन्हि’ मनाउँदैछन्। नेपाल संवत्‌को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ।

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन्। मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन्। मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ।

“यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने।

कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो। उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन्।

आजकै दिन पूर्वी पहाडी जिल्लाका किराँत समूदायले उधौली पर्व मनाउँछन्। यो पर्व पनि अन्नबाली भित्र्याएपछि मनाइन्छ। आज किराँत धर्मका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन्।

आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली नामले चिनिन्छ। बाली लगाउने बेलामा भने उभौँली पर्व मनाइने प्रचलन छ। 

त्यस्तै खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रूपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रूपमा पनि स्वीकार गर्छन्। यःमरीमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ।

मंसिर २२, २०७९ बिहीबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।