उकेराको सामाग्री छेडखानीमा संलग्न विरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं : उकेरा डटकमको सिएमएसमा अनधिकृत प्रवेश गरी प्रकाशित सामाग्रीमाथि छेडखानीमा संलग्नको खोजी गर्न पाथसिड नेपाल प्रालीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
पाथसिड नेपालको तर्फबाट मङ्गलवार ब्युरोमा दिएको उजुरी बुधवार दर्ता गरेर अनुसन्धान अगाडि बढाएको ब्युरोका डिएसपी प्रदिन बज्राचार्यले बताए।
गत बिहीबार उकेरामा प्रकाशित उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीबारे प्रकाशित समाचार र थापाथलीको सुकुम्वासी बस्ती सम्बन्धी लगायतका पाँच सामाग्रीमा छेडखानी भएको थियो।
सबै सामाग्रीहरू डिलेट गरेर असम्बन्धित हेडलाइन र तस्बिर राखिएको घटनामा संलग्नको पहिचान गरी घटनामा संलग्नमाथि विद्धुतिय कारोबार ऐन अनुसार कारबाही गर्न पाथसिड नेपालले माग गरेको छ।
उकेरामाथि भएको हमलाको निन्दा गर्दै नेपाल पत्रकार महासङ्घ, अनलाइन पत्रकार सङ्घ, नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश र फ्रिडम फोरमले यस घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका थिए।
मंसिर २१, २०७९ बुधबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।