चोलेन्द्रविरुद्धको महाअभियोग जीवित छ कि खारेज? संसदका महासचिव र सरकारी प्रवक्ताको कुरा बाझियो

काठमाडौं : नयाँ संसद्को निर्वाचन सम्पन्न भएको भन्दै पुरानो संसद्ले टुङ्ग्याउन नसकेको सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग खारेज भयो कि जीवितै छ भन्ने विषयमा संसदका महासचिव डा भरतराज गौतम र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको दाबी बाझिएको छ।
गौतमले निर्वाचन आयोगले मत गणना सक्काएको भन्दै बुधवार अघिल्लो संसद्ले विचाराधीन राखेको राणा विरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको दाबी गर्दै राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाएका थिए।
निर्णय सार्वजनिक भए लगत्तै राणाको निलम्बन स्वतः फुकुवा भएर उनी सर्वोच्च अदालत फर्कने कानुनी बाटो खुलेको छ। तर सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री कार्कीले राणाविरुद्ध दर्ता भएको महाअभियोग जीवितै रहेको दाबी गरेका छन्।
मन्त्रीपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राणामाथिको महाअभियोगबारे अब आउने संसद्मा छलफल भएर निर्णयमा पुग्ने दाबी गरे।
कार्कीले भने, ‘महाअभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ।’
तर डा गौतमले संविधान अनुसार पुरानो संसद्मा विचाराधीन रहेको विषय नयाँ संसद्मा नजाने भएकाले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर महाअभियोग प्रस्ताव खारेज भएको पत्र पठाएको दाबी गरिरहेका छन्।
उनको निर्णयसँगै राणा विरुद्ध आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरू पुन आन्दोलनमा उत्रँदै सर्वोच्चको गेटमा धर्ना दिइरहेका छन्।
मंसिर २१, २०७९ बुधबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।