संसद्का महासचिवको लेटर बमले सत्ताधारी दलमा तरङ, बार पुन आन्दोलनमा

संसद्का महासचिवको लेटर बमले सत्ताधारी दलमा तरङ, बार पुन आन्दोलनमा

काठमाडौं : नयाँ सरकार गठनका लागि सत्ताधारी दलहरू आन्तरिक गृहकार्यमा सक्रिय रहेकै बेला सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाअभियोग निष्प्रभावी बनाइदिएपछि राजनीतिक तरङ ल्याएको छ।

निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचनको मत परिणाम सार्वजनिक नगर्दै महासचिव गौतमले एकाएक बुधवार नयाँ सांसदहरू निर्वाचित भएकाले पुरानो संसद्को विचाराधीन विषय निष्क्रिय रहेको भन्दै पत्र पठाएपछि न्यायालय पुन राजनीतिक स्वार्थको रण मैदान बनेको छ।

मत गणना सकिए पनि आयोगले औपचारिक रूपमा प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणाम सार्वजनिक गरिसकेको छैन। तर उनले आयोगको मत गणना सकिएको भन्दै राणाविरुद्ध विचाराधीन रहेको महाअभियोग निष्क्रिय रहेको भन्दै राष्ट्रपति निवास, प्रधानमन्त्री कार्यालय र राणालाई पत्र पठाएका हुन्।

संसद्को महासचिवले राणालाई सर्वोच्च अदालत फर्किएर प्रधानन्यायाधीशको रूपमा काम गर्ने कानुनी बाटो खोलेपछि उनले अब सर्वोच्चमा आएर नियमित काम गर्ने धारणा सार्वजनिक गरिसकेका छन्। उता राणा विरुद्ध आन्दोलनमा रहेको नेपाल बार काउन्सिलले भने निर्णय सार्वजनिक भए लगत्तै राणालाई सर्वोच्चमा प्रवेश गर्न नदिन गेटमा धर्ना सुरु गरिसकेको छ।

संसदीय समितिले राणामाथिको महाअभियोगमाथिको छानबिन सक्काएर प्रतिनिधि सभाका तत्कालीन सभामुख अग्नि सापकोटालाई पठाएपछि उनले आगामी संसदले टुङ्गो लगाउने निर्णय गरेका थिए। तर संसद्का महासचिवले भने पुरानो सांसदले गरेको निर्णय नयाँ संसद्मा जान नसक्ने तर्क गर्दै पत्र पठाएका हुन्।

मंसिर २१, २०७९ बुधबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।