निर्वाचनमा पुकार बमको व्यक्तिगत खर्च ३ लाख १६ हजार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमले निर्वाचनमा ३ लाख १६ हजार रूपैयाँ मात्र खर्च गरेका छन्।
मंगलबार जिल्ला निर्वाचन कार्यालयमा सम्पूर्ण बिल भौचरसहित खर्च विवरण बुझाउँदै बमले व्यक्तिगत खर्च जम्मा ३ लाख १६ हजारमात्र भएको बताएका हुन्।
उम्मेदवारी घोषणाको दिनदेखि निर्वाचन नतिजा सार्वजनिक भएको दिनसम्म ९ लाख ५१ हजार ८०६ रूपैयाँ ५५ पैसा रकम खर्च भएकोमा ३ लाख १६ हजार व्यक्तिगत रकम रहेको बमका निर्वाचन परिचालन समितिका संयोजक सुरज गिरीले जानकारी दिए।
बमको चुनावी अभियानमा सहयोगस्वरूप ६ लाख ३५ हजार ५०५ रूपैयाँ प्राप्त भएको र अपुग ३ लाख १६ हजार ३०१ रूपैयाँ ५५ पैसा व्यक्तिगत रकम खर्च भएको गिरीले बताए।
आफूले निर्वाचनलाई कम खर्चिलो, स्वयंसेवी तथा मर्यादित तवरले सम्पन्न गर्न व्यपस्थापकीय पक्षलाई ध्यान दिएको बताउँदै बमले अनुत्पादक गतिविधिहरूलाई पुर्ण रूपमा बन्देज गरेको जानकारी दिए।
बमले आफूलाई ४ हजार ११५ मत दिएर तेस्रो ठूलो शक्तिको रूपमा स्थापित गराउने मतदाताप्रति आभार व्यक्त गरेका छन्।
मंसिर २१, २०७९ बुधबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।