काठमाडौं महानगरले भन्यो– ‘३५ दिनभित्र सरकारी तथा निजी कार्यालयको फोहोर व्यवस्थापन गर्नू’

काठमाडौं : काठमाडौं महानगरपालिकाकाले सरकारी, सार्वजनिक तथा निजी कार्यालयभित्रको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिएको छ।
बुधबार सार्वजनिक सूचना निकालेर महानगरको वातावरण विभागले विभिन्न कार्यालय परिसरमा भएका यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सिंगो शहरको सुन्दरतामा ह्रास आएको निष्कर्ष निकाल्दै महानगरले यस्तो निर्देशन दिएको हो।
‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति र निकायको कानूनी कर्तव्य हो,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ. नियमावली, २०७०’ को कानूनी व्यवस्था बमोजिम सबै प्रकाहरका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोरमैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी शहरलाई सफसुग्घर राख्न सहयोग गर्नुहोला।’
सूचनाको अटेर गरे प्रचलित कानूनबमोजिम दण्ड जरिवाना गर्दै फोहोर व्यवस्थापनमा लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरको चेतावनी छ।
मंसिर २१, २०७९ बुधबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।