सरकारले हटायाे चार वस्तुमा लगाएको आयात प्रतिबन्ध

सरकारले हटायाे चार वस्तुमा लगाएको आयात प्रतिबन्ध

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदिरा, मोबाइल, मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध मंसिर २९ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए।

मुख्यसचिवको संयोजकत्वमा गठित समितिले आयातमा बन्देज खुलाउन सिफारिस गरेको  थियो। त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले आयात खुला गर्ने निर्णय गरेको हो।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले गत वैशाख १३ गते १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा  छ  प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएर बाँकी चार प्रकारका  वस्तुको  आयात  प्रतिबन्धलाई  निरन्तरता दिइएको थियो।

प्रतिबन्ध खुला भएसँगै पुस १ गतेदेखि सबै प्रकारका विदेशी तयारी मदिरा, तीन सय डलरमाथिका मोबाइल फोन, चारपाङ्ग्रे सवारीसाधन र १५०  सीसीमाथिका मोटरसाइकल आयात गर्न पाइनेछ।

मंसिर २१, २०७९ बुधबार ०७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।