राेनाल्डाेकाे स्थानमा मैदान छिरेका रामाेसकाे ह्याट्रिकमा पोर्चुगल फिफा विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : पोर्चुगल फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६–१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो।
पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे। पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे।स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए।
खेलको १७औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। ३३औं मिनेटमा पेपे, ५१औं मिनेटमा पुनः रामोस, ५५औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए।
खेलको ५८औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४–१ को स्थितिमा ल्याए। ६७औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५–१ को अग्रता दिलाए।
उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्। उनी क्रिस्टियानाे राेनाल्डाेकाे स्थानमा सुरुवाती ११ मै मैदान प्रवेश गरेका थिए। राेनाल्डाेलाई प्रशिक्षकले ७२औं मिनेटमा मात्र मैदान छिराएका हुन्।
त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६–१ को शानदार जित दिलाए। उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए। अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ।
मंसिर २१, २०७९ बुधबार ०७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।