समानुपातिकतर्फको मतगणना सकियो, एमालेले ३४ सिट पाउँदा स्वतन्त्र पार्टीलाई कति ?

समानुपातिकतर्फको मतगणना सकियो, एमालेले ३४ सिट पाउँदा स्वतन्त्र पार्टीलाई कति ?

काठमाडौ : प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ।

सबै जिल्लाको मतगणना सकिएको र रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने आयोगका अधिकारीहरूले बताएका छन्। यद्यपि त्यसले दलले पाउने सिटसंख्यामा भने फरक नपर्ने उनीहरूले जानकारी दिए।

आयोगको वेबसाइटमा राखिएको जानकारीअनुसार एमालेले २८ लाख ४५ हजार ६४१, कांग्रेसले २७ लाख १५ हजार २२५, माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएर राष्ट्रिय दल बने।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले पनि ३ लाख ९४ हजार ३१३ मत ल्याउँदै राष्ट्रिय दल बने।

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा यसको ३ प्रतिशत भनेको ३ लाख १६ हजार ८०२ हुन आउँछ।

माधवकुमार नेपालको एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत मात्र ल्याएर राष्ट्रिय पार्टी बन्न सकेन। एकीकृत समाजवादी पार्टीसहित अन्य दलहरू राष्ट्रिय पार्टी बन्न सकेनन्। एकीकृत समाजवादीको चुनाव चिह्न कलममा १८ हजार ४१२ थप मत परेको भए यो पार्टीले पनि समानुपातिकमा सिट पाउँथ्यो।

प्राप्त मतअनुसार समानुपातिकको ११० सिटमा एमालेले सबैभन्दा बढि सिट पाउनेछ। उसले ३४ सिट पाउँदा दोस्रो भएको कांग्रेसले ३२, माओवादी केन्द्रले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले समान पाँच–पाँच सिट पाउनेछन्।

मंसिर २०, २०७९ मंगलबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।