यी ६ देशका नागरिकलाई टिकट र हय्या कार्डविना नै कतार प्रवेशको अनुमति

एजेन्सी : गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का सदस्य राष्ट्रका नागरिक र बासिन्दालाई कतार सरकारले हय्या कार्डविना नै प्रवेशको अनुमति दिएको छ।
त्यहाँका आन्तरिक मामिला मन्त्रालयले मंगलबार एक निर्णय गर्दै कतार विश्वकप २०२२ हेर्नका लागि जीसीसीका सदस्य राष्ट्रका वासिन्दालाई खेलकाे टिकट र हय्या कार्डविना नै प्रवेश अनुमति दिएको हो।
उनीहरू विमानस्थलबाट मंगलबारदेखि र सडक मार्गबाट बिहीबारदेखि कतार प्रवेश गर्न पाउने कतार न्यूज एजेन्सीले जनाएको छ।
यद्यपि, उनीहरूले यात्रा गर्नुभन्दा १२ घण्टा अघि मन्त्रालयको पोर्टल मार्फत प्रवेश अनुमतिको लागि आवेदन दिनुपर्नेछ। प्रवेश अनुमतिका लागि कुनै पनि शुल्क लाग्दैन।
कतारले फुटबल फ्यानहरूलाई नकआउट चरणका खेलहरूको मजा लिनका लागि नियमहरूमा परिवर्तन गरेको हो।
हय्या कार्ड कतारका जारी गर्ने अस्थायी कार्ड हो, जसले फुटबल खेल हेर्नका लागि टिकट किनेकाहरूलाई मेट्रो र बस सेवाहरू निःशुल्क प्रयोग गर्न पाइन्छ।
जीसीसीअन्तरगत बहराइन, कुवेत, कतार, ओमान, साउदी अरेयिबा र युएई पर्छन्।
मंसिर २०, २०७९ मंगलबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।