सुर्य नेपाल काठमाडौं ओपन शुरू, पहिलो दिन रबिलाई अग्रता

काठमाडौं : सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
६-अन्डर ६२ को सानदार स्कोरमा खड्का पहिलाे हुँदा ५-अन्डर ६३ को स्कोरसहित नगरकोटी दोस्रो र ३-अन्डर ६५को कार्ड बनाएका शुक्र बहादुर राई तेस्रो स्थानमा छन्।
यसैगरी २-अन्डर ६६ र १-अन्डर ६७ को स्कोर कार्ड तयार पारेका निरज तामाङ र रमेश अधिकारी क्रमशः चौंथो र पाँचौं स्थानमा छन्। इभन-पार ६८ बनाएका धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे।
पार-६८को रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा मंगलबार भएको पहिलो १८ होलको खेलमा रबि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५-पारको पहिलो होलमा इगलको सफलता प्राप्त गरे।
उनले चौंथो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले र फ्रन्ट नाइन ४-अन्डर ३० मा सकाए। यसपछि रबिले १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा १५औं होलमा बोगी खेप्दै ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।
रबिलाई दवाव दिँदै भुवन नगरकोटीले ५-अन्डर ६३ को स्कोरमा पहिलो दिनको खेल सकाए। राम्रो सुरुवात गरेका भुवनले पहिलो, दोस्रो र चौथो होलमा एक-एक सट बचाए।
नवौं होलमा बोगी प्रहार गर्दै भुवनले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। यो लयलाई कायम राख्दै १०औं, १३औं र १३औं होलमा बर्डीको सफलता प्राप्त गरे। उनले ब्याक नाइन ३-अन्डर ३१ मा पूरा गरे।
प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पिजीटीआई) खेलिरहेका शुक्रबहादुर राई ३-अन्डर ६५ स्कोर जोड्दै तेस्रो स्थानमा छन्। उनी लिडर रबि भन्दा ३ स्ट्रोकले पछाडि छन्।
फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाउने क्रममा शुक्रले पहिलो, दोस्रो र चौंथो होलमा बर्डी प्रहार गरे। आठौं होलमा भने एक सट खेर फाले। यसपछि उनले १३औं होलको बर्डीले ब्याक नाइन १- अन्डर ३३ मा सकाए।
एमेच्योरतर्फ अजित बिके अग्रस्थानमा रहे। २-ओभर ७० खेल्दै प्रोफेसनल गल्फरद्वय राजेन्द्र श्रेष्ठ प्रधान र प्रदिप कुमार लामासंग ११औं स्थान बाँडेका अजित दोश्रो स्थानमा रहेका प्रज्जवल गुरुङभन्दा ८ स्ट्रोकले अगाडी रहेका छन्।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी सिजनको पहिलो प्रतियोगितामा ३१ प्रोफेसनल र ५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन्। ३६ होलको समाप्ति पछि उत्कृष्ट २१ प्रो र ५ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको खेलका लागि कट बनाउँने छन्।
कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
मंसिर २०, २०७९ मंगलबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।