सकियो एसियाली राष्ट्रको विश्वकप यात्रा, ब्राजिल र क्रोएसिया क्वार्टरफाइनलमा

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा उपाधि दावेदार मानिएको ब्राजिल र अघिल्लो संस्करणको उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा पुगेका छन्। दुवै टोलीले एसियाली राष्ट्रलाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेका हुन्।
अन्तिम १६ को खेलमा क्रोएसियाले टाइब्रेकरमार्फत जापानलाई हराएको हो। निर्धारित ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको समयसम्म दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। जसमा क्रोएसियाले ३-१ गोल अन्तरले जापानलाई हराएको हो।
खेलमा सुरुआती अग्रता जापानले लिए पनि पछि क्रोएसियाले गोल गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको थियो।
यस्तै आज बिहान सम्पन्न ब्राजिल र दक्षिण कोरियाबीचको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गरेको छ। चोटका कारण समूह चरणको खेल गुमाएर अन्तिम १६ मा फर्किएका चर्चित खेलाडी नेयमारले पेनाल्टीमार्फत एक गोल गरे।
ब्राजिलको चारै गोल पहिलो हाफमा भएको हो। खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत् गोल गरेका थिए। यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेका हुन्।
खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे। त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो।
अब क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। र अब विश्वकपमा एसियाली राष्ट्रको प्रतिनिधित्व पनि सकिएको छ। एएफसीअन्तर्गतका तीन राष्ट्र अष्ट्रेलिया, जापान र दक्षिण कोरिया विश्वकपमा अन्तिम १६ मा पुगेका थिए। तीन वटै टोली पराजित भएका छन्।
मंसिर २०, २०७९ मंगलबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।