महाकालीको समस्याबारे भारतलाई कूटनीतिक नोट पठाउन गृहले परराष्ट्रलाई पत्र पठायो

महाकालीको समस्याबारे भारतलाई कूटनीतिक नोट पठाउन गृहले परराष्ट्रलाई पत्र पठायो

काठमाडौँ  : दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि भारतले महाकाली मिच्दै एकतर्फी तटबन्ध बनाएको विषयमा भारतलाई कुटनितीक नोट पठाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाइको छ।

नेपालको सहमति नै नलिई भारतले एकतर्फी रूपमा भौतिक संरचना बनाइरहेको छ। भारतको सो कामले नेपालतर्फ क्षति पुर्याउने भन्दै गृहले परराष्ट्रलाई यसबारे भारतलाई कूटनीतिक नोट पठाउन भनेको हो।

गृहको पत्रमा सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गर्दै पटक-पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिइरहेकाले कूटनीतिक पहल गरी दीर्घकालीन समाधान खोज्न परराष्ट्रलाई आग्रह गरेको छ।

सो क्षेत्रमा आइतबार अपराह्न ४ बजे दुवैतर्फबाट ढुङ्गा हानाहान हुँदा भारतीय क्षेत्रबाट हानेको ढुङ्गा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

नेपाली बालकहरू घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुङ्गे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गराएका थिए। तर प्रशासनको हस्तक्षेपमा केही समयमा ताल्चा खुलेको थियो।

मंसिर १९, २०७९ सोमबार २३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।