चार दल गठबन्धनको पक्षमा देखिए

चार दल गठबन्धनको पक्षमा देखिए

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले गठबन्धनको औचित्य र सान्दर्भिकताको पुष्टि गरेको निष्कर्ष निकालेको छ।

निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको सोमबार गठबन्धनमा रहेका चार दलका नेताहरूको बैठक भएको थियो।

बैठकपछि जारी विज्ञप्तिमा 'मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ' दाबी गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको र मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको उल्लेख छ।

निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ चार दलका नेताहरूको निष्कर्ष छ।

विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। लोसपा पनि गठबन्धनमा रहे पनि बैठकमा भने सहभागी भएन।

मंसिर १९, २०७९ सोमबार २२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।