तोसिमाले राजीनामा त दिइन्, तर कसले स्वीकृत गर्ने टुङ्गो छैन

तोसिमाले राजीनामा त दिइन्, तर कसले स्वीकृत गर्ने टुङ्गो छैन

काठमाडौं: नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन्। आइतबार कार्की आफैँ काउन्सिलमा उपस्थित भएर राजीनामा दिएकी हुन्।

 

तर कार्कीले राजीनामा दिए पनि राजीनामा स्वीकृत कसले गर्ने भन्ने विषयले हाल अन्योल भएको छ। अब स्वास्थ्य मन्त्रालयबाट राय लिएर कसले राजीनामा स्वीकृत गर्ने भन्ने विषयको टुङ्गोमा पुगिने काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए।

'डा. तोसिमा कार्किले नेपाल मेडिकल काउन्सिलबाट राजीनामा दिएकी छन्। तर कसले स्वीकृत गर्ने हामीलाई थाहा छैन। स्वास्थ्य मन्त्रालयबाट राय प्राप्त भएपछि निर्णय गर्छौँ', अधिकारीले भने। यसबारे बुझ्न अधिकारी आफैँ मन्त्रालय जाँदैछन्।

काउन्सिलमा दुई तरिकाबाट सदस्य चयन हुन्छन्। पहिलो- मन्त्रिपरिषद्को मनोनयन र दोस्रो- निर्वाचनमार्फत। यद्यपि सदस्य भइसकेपछि दुवै तरिकाबाट चयन भएका सदस्यको हैसियत बराबर हुन्छ।

यसअघि कार्की काउन्सिलको सदस्य भएको र सो पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। तर सर्वोच्च अदालतले आयोगको निर्णय बदर गर्दै उम्मेदवारी कायम रहने निर्णय गरेको थियो।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्।

मंसिर १९, २०७९ सोमबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।