यी हुन् लुम्बिनी प्रदेश सभामा दोहोरिएका १९ सांसद

बुटवल: लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ निर्वाचन क्षेत्र छ। यस्तै समानुपातिकबाट ३५ जना निर्वाचित हुने व्यवस्था छ।
कुल ८७ सदस्यीय प्रदेश सभामा यसपटक ०७४ मा निर्वाचित १९ जना सांसद पुनः दोहोरिएका छन्। जसमध्ये एमालेका नौ, कांग्रेसका पाँच, माओवादी केन्द्रका चार तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सांसद दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्।
एमालेबाट को-को दोहोरिए?
एमालेबाट दोहोरिनेमा रुपन्देही २ (क)का लीला गिरी रहेका छन्। उनले सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका दीर्घबहादुर केसीलाई पराजित गरेका हुन्।
गिरीले १७ हजार ६३७ मत प्राप्त गरी विजयी हुँदा केसीले १४ हजार ९१० मत पाएका थिए।
त्यसैगरी रुपन्देही २ (ख) मा भोजप्रसाद श्रेष्ठ दोहोरिए। उनले सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका बामदेव क्षेत्रीलाई पराजित गरे।
श्रेष्ठले १६ हजार ३५१ मत ल्याउँदा माओवादीका क्षेत्रीले नौ हजार ४३१ मत प्राप्त गरे।
रुपन्देही ३ (ख) बाट तुलसीप्रसाद चौधरी प्रदेश सभामा पुनः दोहोरिए। चौधरीले १६ हजार ३९४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र ढकालले १६ हजार १९३ मत ल्याएका थिए।
यहाँ नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेकी नन्दकुमारी थापा चौधरीले पाँच हजार ९७८ मत ल्याएकी थिइन्।
यसैगरी रुपन्देही ५ (क) बाट भूमिश्वर ढकाल दोहोरिए। लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा एमाले प्रमुख सचेतक समेत बनेका ढकालले यस पटकको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विनोद पहाडीलाई पराजित गरे।
ढकालले १९ हजार ७८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका पहाडीले ११ हजार ३६८ मत ल्याए।
गुल्मी २ (ख) बाट दिनेश पन्थी दोस्रो पटक दोहोरिए। ०७४ सालको निर्वाचनसम्म माओवादीमा रहेका उनी नेकपा विभाजनपछि एमालेमा रहे।
पार्टी परिवर्तन गरेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो। जसको कारण संसद्को पाँच वर्षे कार्यकाल उनले पूरा गर्न पाएका थिएनन्।
उनै पन्थीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रकै बुद्धिबहादुर घर्तीलाई पराजित गरे। पन्थीले १३ हजार ९२९ मत प्राप्त गरी विजयी हुँदा घर्तीले १३ हजार ८१९ मत ल्याए।
यस्तै कपिलवस्तु १ (क) बाट विष्णु पन्थी दोस्रो कार्यकालका लागि दोहोरिए। उनले नेपाली कांग्रेसका डोलकराम घिमिरेलाई पराजित गरे।
पन्थीले २० हजार २४७ मत प्राप्त गर्दा घिमिरेले १५ हजार ७९७ मत प्राप्त गरे। कपिलवस्तु ३ (क) बाट अर्जुनकुमार केसी दोहोरिए।
उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रविदत्त मिश्रालाई ६ मतले पराजित गरे। केसीले ११ हजार ७४३ मत प्राप्त गर्दा मिश्राले ११ हजार ७३७ मत प्राप्त गरेका थिए।
अर्घाखाँची १ (क)बाट चेतनारायण आचार्य र अर्घाखाँची १ (ख) बाट रामजीप्रसाद घिमिरे दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य चुनिए।
आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री)लाई पराजित गरे। आचार्यले २० हजार ५२५ मत प्राप्त गर्दा क्षेत्रीले १९ हजार ७९० मत प्राप्त गरे।
त्यसैगरी घिमिरेले नेपाली कांग्रेसका कमलप्रसाद भुसाललाई पराजित गरे। घिमिरेले २२ हजार ७८९ मत प्राप्त गर्दा भुसालले २१ ह्जार ९८३ मत प्राप्त गरे।
कांग्रेसबाट दोहोरिनेहरू
यस्तै कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये नौ जना यसपटक चुनावी मैदानमा गएका थिए।जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भएका छन्।
रुपन्देही ४ (ख) बाट वसिउद्दिन खाँ दोहोरिएका छन्। लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका खाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादवलाई पराजित गरे।
खाँ ले ११ हजार ३०५ मत प्राप्त गर्दा यादवले आठ हजार २६५ मत प्राप्त गरे। त्यहाँ जनमत पार्टीका उम्मेदवार अर्जुनप्रसाद जैसवालले सात हजार ६६१ मत प्राप्त गरे।
दाङ ३ (क) बाट डिल्लीबहादुर चौधरी दोहोरिए। लुम्बिनी प्रदेश सरकारमा पर्यटन, ग्रामिण तथा शहरी विकासमन्त्री रहेका चौधरीले एमालेका घनश्याम पाण्डेलाई पराजित गरे।
चौधरीले १९ हजार ८६७ मत प्राप्त गर्दा एमालेका पाण्डेले १४ हजार ४६९ मत प्राप्त गरे।
बर्दिया १ (क) बाट भुवनेश्वर चौधरी दोस्रो कार्यकालका लागि जनताबाट अनुमोदित भए। उनले त्यहाँ एमालेका शालिकराम अधिकारीलाई पराजित गरे।
चौधरीले १७ हजार २६ मत प्राप्त गर्दा एमालेका अधिकारीले १६ हजार ९०७ मत प्राप्त गरे। त्यहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खेमबहादुर थारुले ११ हजार ९०१ मत ल्याए।
पाल्पा २ (क) बाट वीरबहादुर राना दोस्रो कार्यकालका लागि दोहोरिए। लुम्बिनी प्रदेश सकारमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समालेका रानाले एमालेका परशुराम भट्टराईलाई पराजित गरे।
रानाले १६ हजार ३९ मत प्राप्त गर्दा भट्टराईले १३ हजार ९६४ मत प्राप्त गरे।
नवलपरासी २ (ख) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भए। उनले ११ हजार ७८२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगेन्द्र अग्रहरीले नौ हजार ८५२ मत प्राप्त गरे।
माओवादीबाट दोहोरिएकाहरू
माओवादीबाट २०७४ सालमा प्रदेश सभा सदस्य भएकामध्ये चार जना यो पटक दोहोरिएका छन्।
दाङ १ (क) बाट इन्द्रजित थारु दोहोरिएका छन्। उनले एमालेका गंगाराम भट्टराईलाई पराजित गरे।
लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका थारुले १३ हजार ५०७ मत प्राप्त गर्दा एमालेका भट्टराईले ११ हजार ७२८ मत प्राप्त गरे।
बाँके १ (क) बाट कृष्णा केसी दोस्रो पटक निर्वाचित भइन्। उनी लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष चुनाव जित्ने एक्ली महिला सांसद पनि बनिन्।
उनले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि दोहोरिएकी हुन्। केसीले नौ हजार १०३ मत प्राप्त गर्दा चौधरीले सात हजार ९६६ मत प्राप्त गरे।
पाल्पा २ (ख) बाट तुलाराम घर्ती यो पटक पनि निर्वाचित भए। यसअघिको कार्यकालमा माओवादीका प्रमुख सचेतक समेत भएका घर्तीले एमालेका ओमबहादुर घर्ती मगरलाई पराजित गरे।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका घर्तीले १३ हजार ९१२ मत प्राप्त गर्दा एमालेका ओमबहादुर घर्ती मगरले १३ हजार ५१ मत प्राप्त गरे। मगर तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।
लोसपाका पाण्डेय पनि दोहोरिए
यस्तै रुपन्देही ३ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डेय पनि प्रदेश सभामा दोहोरिएका छन्।
प्रदेशमा भएको राजनीतिक उत्तारचढावका कारण पूरा ५ वर्षे कार्यकाल बिताउन नपाएका पाण्डेयले जनता समाजवादी पार्टी नेपालका महेन्द्र यादवलाई पराजित गरे।
पाण्डेयले १४ हजार ९२८ मत प्राप्त गर्दा यादवले १० हजार ७९८ मत प्राप्त गरे।
२०७४ को निर्वाचनमा २७ सिट जितेको एमालेले यसपटक प्रदेश सभामा नौ सिट गुमाएको छ। यता, २०७४ मा सात सिट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बन्न सफल भएको छ।
२०७४ मा १४ सिटमा जित निकालेको माओवादी केन्द्र अहिले ५ सिटमा खुम्चिएको छ।
प्रदेश सभामा प्रत्यक्षतर्फ १८ सिट जितेर एमाले पहिलो दल बनेको छ। कांग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २/२ सिट, जनमत पार्टीले एक सिट जितेका छन्।
माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन्। एकीकृत समाजवादी लुम्बिनी प्रदेशमा शून्य छ।
मंसिर १९, २०७९ सोमबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।