विश्वकप: फ्रान्स र इङ्ग्ल्याण्ड विजयी, क्वाटरफाइनलमा एकअर्कासँग भिड्ने

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स र इङ्ग्ल्याण्ड क्वाटरफाइनल चरणमा पुगेका छन्। गए राति सम्पन्न खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्यो भने इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोलअन्तरले हराएको हो।
अघिल्लो संस्करणको विजेता फ्रान्सको जितमा ओलिभिएर जिरुडले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। यस्तै ७४औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। उनैले खेलको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।
योसँगै एम्बाप्पेले विश्वकपमा आफ्नो गोल सङ्ख्या नौ पुर्याएका छन्। उनले लियोनल मेस्सीसँग बराबरी गरेका छन् भने क्रिष्टियानो रोनाल्डो, डिएगो म्याराडोना लगायतको आठ गोलको कीर्तिमानलाई पछि पारेका छन्।
यस्तै पोल्यान्डले खेलको अन्तिममा पेनाल्टी पायो। त्यसलाई रोबर्ट लेवान्डोस्कीले प्रहार गरे। पहिलो पटकको प्रहार गोलकिपरले बचाए। तर उनी पेनाल्टी प्रहार गर्नुअघि नै गोललाइनबाहिर आएकाले पोल्याण्डले पुनः पेनाल्टी पायो। र दोस्रो पटकमा लेवान्डोस्कीले गोल गरे।
यस्तै आज बिहान सम्पन्न इङ्ग्ल्याण्ड र सेनेगलबीचको खेलको विजेता इङ्ग्ल्याण्ड भयो।
इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए।
योसँगै क्वार्टरफाइनलमा इङ्ग्ल्याण्ड र फ्रान्सबीच भिडन्त हुने भएको छ। यसअघि नै नेदरल्याण्ड्स र अर्जेन्टिनाले क्वार्टरफाइनलमा आफ्नो भिडन्त तय गरिसकेका छन्।
मंसिर १९, २०७९ सोमबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।