अंग्रेजी नयाँ वर्षदेखि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने पर्यटनमन्त्रीको घोषणा

अंग्रेजी नयाँ वर्षदेखि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने पर्यटनमन्त्रीको घोषणा

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन  ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सार्नुभएको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको हो।

पहिलो चरणमा साझा यातायातका पाँच वटा बिजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौं दरवार, पशुपति, बौद्ध र  स्वयम्भु पुग्नेछ। भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ।

पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन्। करीब ३० किलोमिटर लामो पूरा यात्रा गर्न तीन घण्टा लाग्नेछ। आगामी अंग्रेजी नयाँ बर्षदेखि ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठले ‘होप अन होप अफ’ सिटी बस प्रभावकारी रूपमा  सञ्चालनबारे सरोकारवालाहरूसँग आइतबार मन्त्रालयमा छलफलसमेत गरे। छलफलमा साझा यातायातका सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो।

मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएका हुन्।

होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए।

मंसिर १८, २०७९ आइतबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।