प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागेकोप्रति कांग्रेसले गरायो ध्यानाकर्षण

प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागेकोप्रति कांग्रेसले गरायो ध्यानाकर्षण

बुटवल: लुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङ सार्न लागेको प्रति नेपाली कांग्रेस रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ। नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले जसरी पनि प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेसले ध्यानाकर्षण गराएको हो।

कांग्रेसले संरचनाहरू निर्माण भएपछि राजधानी लैजाने जिम्मा नयाँ बन्ने सरकारलाई दिनुपर्ने माग गरेको छ। प्रदेश सभाबाट दाङको देउखुरी उपत्यका र अर्घाखाँचीको सिगंगा नगरपालिकाको राप्ती किनारको सेरोफेरोमा लैजाने निर्णयअनुसार अहिले त्यहाँ संरचना नै निर्माण नभएको अवस्थामा राजधानी सार्न हतार गरिएको भन्दै कांग्रेस रुपन्देहीले हतार नगर्न आग्रह गर्दै यो माग अघि सारेको हो।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने उल्लेख गरेका छन्।

‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समिति लगायतका संरचनाको नियमित संचालन र व्यवस्थान गर्न साथै प्रदेश सभा र सरकार सँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौ’, सभापति खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रदेशको मुकाम कहाँ राख्ने र सार्नेभन्दा बढी प्राथमिकता प्रदेश सरकारले प्रदेशबासीको दैनिकीसँग जोडिने गरी कानून निर्माणमा ध्यान दिन कांग्रेसले आग्रह गरेको छ। पछिल्लो निर्वाचनको साङ्केतिक अभिमतलाई दृष्टिगत गर्दै प्रदेश मुकाम जहाँ छ त्यहीँबाट चुस्त रूपमा सेवा सञ्चालनको माग कांग्रेसको छ।

मंसिर १८, २०७९ आइतबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।