एमाले नेता गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

काठमाडौं: नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। बाँस्कोटाको लोकन्थलीस्थित घरको पर्खाल छेउमा शंकास्पद वस्तु फेला परेको हो।
हाल उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ। सेनाको टोलीले त्यस क्षेत्र वरपर कसैलाई आउजाउ गर्न नदिई नियन्त्रणमा राखेको छ।
बाँस्कोटा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे- २ बाट निर्वाचित भएका थिए। यसअघि पनि बाँस्कोटाको यस घरमा बम विष्फोट भएको थियो। २०७६ को फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो। त्यसबेला विष्फोटको जिम्मा विप्लव समूहले लिएको थियो।
हाल बाँस्कोटा काभ्रेस्थित घरमा छन्।
मंसिर १८, २०७९ आइतबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।