म्याराडोनाको कीर्तिमान भङ्ग गर्दै मेस्सीले पुर्‍याए अर्जेन्टिनालाई क्वार्टरफाइनलमा

म्याराडोनाको कीर्तिमान भङ्ग गर्दै मेस्सीले पुर्‍याए अर्जेन्टिनालाई क्वार्टरफाइनलमा

काठमाडौं: आज बिहान सम्पन्न अर्जेन्टिना र अष्ट्रेलियाबीचको अन्तिम १६ को खेल अर्जेन्टिनाले जितेको छ। कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराएको हो।

योसँगै उपाधिको दावेदार अर्जेन्टिना विश्वकपको अन्तिम ८ अर्थात् क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक तथा जुलियन अल्भारेजले एक गोल गरे। यस्तै अर्जेन्टिनाकै इन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलियाले केही समय अर्जेन्टिनालाई दबाबमा राख्यो।

खेलको पहिलो हाफको ३५ औँ मिनेटमा मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। आफ्नो खेल करियरको एक हजारौँ तथा अर्जेन्टिनाको कप्तानको रूपमा एक सयौँ खेलमा मेस्सीले गोल गर्दै कुल गोल सङ्ख्या पनि ७८९ पुर्याए। यस्तै विश्वकपमा कुल नौ गोल गर्दै उनले अर्जेन्टिनी विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको आठ गोलको कीर्तिमान पनि भङ्ग गरे।

साथै विश्वकपको नकआउट चरणमा पहिलो गोल गर्दै उनले आफ्नै लागि पनि नयाँ कीर्तिमान बनाए। मेस्सी 'प्लेयर अफ द म्याच' पनि चुनिए।

त्यसपछि अष्ट्रेलियन गोलकिपरको कमजोरीको फाइदा उठाउँदै खेलको ५७ औँ मिनेटमा अल्भारेजले अर्को गोल थपे। खेलको ७७ औँ मिनेटमा भने इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे। त्यसपछि अष्ट्रेलियाले विभिन्न अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन।

यस्तै अर्जेन्टिनाले पनि पाएको अवसर गोलमा परिणत गर्न सकेन। लाउटारो मार्टिनेजले केही अवसर खेर फाले।

जितसँगै अर्जेन्टिनाले अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्ने भएको छ। नेदरल्याण्ड्स यसअघि नै अन्तिम १६ मा अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो।

मंसिर १८, २०७९ आइतबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।