रुपन्देहीमा नाै वटा सहकारी मर्ज

रुपन्देहीमा नाै वटा सहकारी मर्ज

बुटवल : रुपन्देहीमा नौ वटा सहकारी संस्थाहरू मर्ज भएका छन्।

रुपन्देही, नवलपरासी र कपिलवस्तुका सहकारी मर्ज भएको घोषणा भएको हो।

सार्थक, आगन्तुक, शाईन, उपदेश, उपकार, जनप्रिय, सुशन्देश शुभश्री, वरदान बहुउद्देश्यीय सहकारी संस्थाहरूका पदाधिकारी, शेयर सदस्यहरूको सहभागितामा शनिबार मर्जर घोषणा गरिएको हो।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेतीले सहकारीको अहिले सिर्जना भएको भ्रम तोड्ने गरी केन्द्रबाट काम सुरू भएको बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले एकीकरण आफैँमा नयाँ उर्जा थप्ने अभियान भएको बताए।

शब्दमा मात्र सीमित नभई कार्यान्वयन गर्न सुझाव दिँदै उनले सहकारीको परिभाषा र नारालाई अक्षरस पालना गरेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकमा सञ्चालक माधवलाल देवकोटाले सहकारीको आधारभुत मूल्यमान्यतालाई समेत कार्यान्वयन नगर्दा सहकारी डुब्नेसम्मको अवस्था आएको बताए।

प्रतिबद्धतासहित सुधार ल्याउने बाहेक अन्य कुनै विकल्प नभएको बताए। अहिले रुपन्देहीमा मात्र ७ सय सहकारीहरू छन्।

सिद्धबाबा बहुउदेश्यीय सहकारी संस्था गठन गर्ने गरी प्रस्तावित नाम सहित यी सहकारीहरु एकीकरण भएका हुन्। तर्दथ समितिका अध्यक्ष प्रकाश खनालका अनुसार मर्जर पश्चात सहकारीको कुल निक्षेप संकलन ३३ करोड ४४ लाख ७२ हजार २८७ हुनेछ।

यस्तै, कर्जा प्रवाह २९ करोड ६२ लाख ८५ हजार ९८२ हुने बताइएको छ। एकीकरणपश्चात हुने तरलता १२.६९ प्रतिशत कायम हुने जनाइएको छ।

यस्तै, अचल सम्पत्ति २ करोड ८१ लाख ६७ हजार १४७ र शेयर पुँजी ३ करोड ७१ लाख ४२ हजार ३०३ रूपैयाँ हुनेछ भने एकीकरणपश्चात शेयर सदस्यहरूको संख्या २२ हजार ४१३ जना रहनेछन्।

मंसिर १७, २०७९ शनिबार १९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।