महासंघको एसोसिएट प्रदेश समितिले भन्यो– ‘सीएमएसमा प्रवेश गरी समाचार हटाउनु गम्भीर साइबर अपराध’

महासंघको एसोसिएट प्रदेश समितिले भन्यो– ‘सीएमएसमा प्रवेश गरी समाचार हटाउनु गम्भीर साइबर अपराध’

काठमाडौं : नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले उकेरा डटकमको सीएमएसमा प्रवेश गरी अनधिृकत रूपमा समाचार हटाउनुलाई गम्भीर साइबर अपराध भएको ठहर गरेको छ।

शनिबार विज्ञप्ति निकालेर समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीले अनधिकृत रूपमा प्रवेश गरेर प्रकाशित समाचार हटाउने तथा असान्दर्भिक शीर्षक र तस्बिर पोस्ट गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बिहीबार मध्यराति उकेरा डटकमको अनलाइन सर्भरबाट ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोर दीपेश पुन र काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साहसँग सम्बन्धित समाचार हटाएर असान्दर्भिक तस्वीर र शीर्षक राखेको थियो।

साथै समाचार लेखेकै भरमा प्रधानसम्पादक केपी ढुंगानालाई समाजिक सञ्जालम गालीगलौज गर्ने र धम्क्याउने कार्य भइरहनुलाई समितिले स्वतन्त्र प्रेसविरुद्धको प्रहार ठहर गरेको छ। यस्तै उसले समाचारको विषयमा चित्त नबुझे अपनाउन सकिने कानूनी बाटो हुँदाहुँदै ह्याक गरेर समाचार हटाउनुलाई आपत्तिजनक भनेको छ।

समितिले घटनाको तत्काल छानविन गरी अभिव्यक्तिमाथि बन्देज लगाउने कार्यमा संलग्नको पहिचान गरेर कानूनी दायरामा ल्याउन माग गरेको छ। संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नसमेत समितिको माग छ।

मंसिर १७, २०७९ शनिबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।