उकेराको समाचार डिलिट गर्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग

उकेराको समाचार डिलिट गर्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासंघले पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कामको विरोध गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ।

उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरेर सुप्रिम सहकारी आर्थिक सङ्कटमा रहेको समाचार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादसहितका पाँच समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाइ अन्य सामग्री राखिएको थियो।

‘प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानूनको समेत गम्भीर उल्लंघन भएको छ,’ सङ्घका सचिव पवन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले यस्तो कार्यको भर्त्सना र निन्दा गर्दै कानूनविपरीतका कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्नसमेत माग गरेको छ।

मंसिर १७, २०७९ शनिबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।