यस्तो छ विश्वकपको अन्तिम १६ को 'फिक्स्चर', आज दुई खेल हुँदै

यस्तो छ विश्वकपको अन्तिम १६ को 'फिक्स्चर', आज दुई खेल हुँदै

काठमाडौं: कतार विश्वकपको अन्तिम १६ को समीकरण पूरा भएको छ। आज बिहान सम्पन्न समूह चरणका दुई खेलपछि अन्तिम १६ का सबै टोलीको टुङ्गो लागेको हो।

जसअनुसार आजैबाट अन्तिम १६ अन्तर्गतका खेलहरू हुँदैछन्। पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राति ८:४५ बाट सुरु हुनेछ।

नेदरल्याण्ड्स समूह 'ए'को विजेता बन्दै समूह 'बी'को उपविजेता अमेरिकासँग भिड्न लागेको हो।

समूह 'ए'को उपविजेता सेनेगलले समूह 'बी'को विजेता इङ्ग्ल्याण्डविरुद्ध खेल्नेछ। यो खेल भने सोमबार राति १२:४५ मा हुनेछ।

यसैगरी आज राति १२:४५ मा समूह 'सी'को विजेता अर्जेन्टिना र समूह 'डी'को उपविजेता अष्ट्रेलिया एकअर्काविरुद्ध भिड्दैछन्। 'सी'को उपविजेता पोल्याण्ड र 'डी'को विजेता फ्रान्सबीचको खेल भोलि राति ८:४५ मा हुनेछ।

यस्तै सोमबार राति ८:४५ मा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान समूह 'ई'को विजेता हो भने क्रोएसिया समूह 'एफ'को उपविजेता हो।

समूह 'ई'को उपविजेता स्पेन र समूह 'एफ'को विजेता मोरक्कोबीचको खेल मङ्गलबार राति ८:४५ मा हुनेछ।

यसैगरी 'जी' समूहको विजेता ब्राजिलले 'एच' समूहको उपविजेता दक्षिण कोरियाको सामना गर्नछ। यो खेल मङ्गलबार राति १२:४५ मा हुनेछ।

'जी' समूहकै उपविजेता स्विट्जरल्याण्डले भने 'एच' समूहको विजेता पोर्चुगलको सामना गर्नेछ। बुधबार राति १२:४५ मा यो खेल हुनेछ।

यहाँबाट १६ मध्ये आठ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन्।

मंसिर १७, २०७९ शनिबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।