क्यामरूनसँग हार्‍यो ब्राजिल, स्विट्जरल्याण्ड पुग्यो अन्तिम १६ मा

क्यामरूनसँग हार्‍यो ब्राजिल, स्विट्जरल्याण्ड पुग्यो अन्तिम १६ मा

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलको समूह चरणको खेलहरू सकिएको छ। आज बिहान सम्पन्न समूह 'जी'का दुई खेलपछि समूह चरणको भिडन्त सकिएको हो।

बिहान सम्पन्न दुई खेलमा ब्राजिल क्यामरूनसँग पराजित भएको छ। क्यामरूनले ब्राजिललाई १-० गोलअन्तरले हराएको हो।

क्यामरूनका लागि भिन्सेन्ट अबुबाकरले खेलको दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए। लगत्तै उनले रेड कार्ड पाउँदै मैदान छोड्नुपरेको थियो। यद्यपि जितका बावजुद पनि क्यामरून अन्तिम १६ मा भने पुग्न सकेन।

यो समूहबाट ब्राजिल समूह विजेता र स्विट्जरल्याण्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे। स्विट्जरल्याण्डले सर्बियालाई ३-२ गोलअन्तरले पराजित गरेको थियो।

योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको तय भएको छ। नेपाली समयअनुसार आज राति ८:४५ मा अन्तिम १६ अन्तर्गत नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन्। यस्तै १२:४५ मा अर्जेन्टिना र अष्ट्रेलिया भिड्दैछन्।

मंसिर १७, २०७९ शनिबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।