पत्रकारलाई डिजिटल प्रशिक्षण दिन सिएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु

काठमाडौं : नेपाली पत्रकारहरूमा डिजिटल र विषयगत क्षमता वृद्धि गर्न सिएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु गरेको छ। सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको हो।
एकेडेमी उद्घाटन कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघ महिनादेखि मोबाइल जर्नालिज्म, पोडकाष्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी, डेटा जर्नालिज्म लगायतमा तालिम सुरु गर्ने बताए।
नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले अध्यक्ष विपुल पोखरेलको शुभकामना सन्देश पढ्दै नेपाली पत्रकारहरूमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए। उनले एकेडेमीले पत्रकारहरूलाई आवश्यकता अनुसार तालिम दिएर प्राविधिक र विषयगत रूपमा सबल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए।
नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताए। उनले मिथ्या सूचना समाजका लागि नै घातक हुने बताउँदै त्यसलाई न्यूनीकरण गर्नेतर्फ पनि एकेडेमीको भूमिका हुनुपर्ने धारणा राखेका थिए।
इन्टरलिङ्क एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारहरूको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यावसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय ज्ञान र अनुभव बाँड्ने क्रममा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा एकेडेमी सुरु गरेको बताए।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टरले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यवहारिक रूपमा सक्षम बनाउन सहयोग गर्ने बताइन्।
मंसिर १६, २०७९ शुक्रबार २३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।