भीम रावललाई बालेनको जवाफ– ‘राजदूतले अनुमति लिएर आएपछि मात्र भेट गरेका हाैं’

भीम रावललाई बालेनको जवाफ– ‘राजदूतले अनुमति लिएर आएपछि मात्र भेट गरेका हाैं’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र अमेरिकी राजदूतलाई भेट गरेको बताएका छन्।

शुक्रबार दिउँसो एमाले नेता डा. भीम रावलले साह र अमेरिकी राजदूत डीन आर थम्पसनबीचको भेटलाई लिएर प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएका हुन्। रावलले दुईबीचको भेटका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको वा नलिएकोबारे प्रश्न उठाएका थिए।

जवाफमा बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।’

यस्तै, महानगरले अमेरिकी सरकारसँग कुनै पनि सहयोग नमागेको स्पष्ट पारेका छन्। बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोसमेत उनले बताए।

उनले सामाजिक सञ्जालमा अगाडि लेखेका छन्,.‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’

मंसिर १६, २०७९ शुक्रबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।