प्रमुख आयुक्त थपलियाको दाबी : उच्च राजनीतिक संस्कार स्थापित गराउन निर्वाचन सफल

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको दाबी गरेका छन्।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षाहरू पूरा भएको बताए।
‘हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ। पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ उनले भने, ‘हामीले निर्वाचनमा यसपटक पद, पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्यौँ।’
थपलियाले अब भौतिक रूपमा वा सडकमा हुने कुरामा मात्र नभएर सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न पाइँदैन भन्ने कुरा स्थापित भएको बताए। साथै निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उल्लेख गरे।
प्रमुख आयुक्त थपलियाले वर्तमान निर्वाचन कानूनसँग आयोग सन्तुष्ट हुन नसकेको बताए।
‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ। हामी अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भन्ने व्यापक तयारी गरिरहेका छौँ,’ उनले भने, ‘सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ।’
मंसिर १६, २०७९ शुक्रबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।