नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, पानी परेपछि रोकियो खेल

नेपालले नामिबियालाई दियो १९८ रनको लक्ष्य, पानी परेपछि रोकियो खेल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीय खेलमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ।

युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९७ बनायो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले। एकदिवसीयमा उनको यो छैटौं अर्धशतक हो।

यस्तै आरिफ शेखले २३ रन जोड्दा आसिफ शेखले २० रन जोडे। अर्जुन साउद र गुलशन झा समान १८ रनमा आउट भए।

कुशल भुर्तेलले १३ रन जोडे भने सोमपाल कामी र कप्तान रोहित पौडेल १० रनमा आउट भए। दीपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सागर ढकाल १ रनमा आउट भए।

नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए। कार्ल ब्रिकेनस्टोकले २ विकेट लिए।

नामिबियाले जवाफी ब्याटिङ सुरू गर्दै गर्दा पानी परेपछि खेल रोकिएको छ। ताजा अवस्थामा नामिबियाले ४ बल खेलेर ४ रन बनाएको छ।

मंसिर १६, २०७९ शुक्रबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।