राष्ट्रिय पार्टी बन्न संघर्षरत एकीकृत समाजवादी, ल्यायो २.८३ प्रतिशत मत मात्रै

राष्ट्रिय पार्टी बन्न संघर्षरत एकीकृत समाजवादी, ल्यायो २.८३ प्रतिशत मत मात्रै

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ३ लाख मतको परिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले शुक्रबार दिउँसोसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने सम्भावना न्यून बन्दै गएको छ।

१ करोड ३ लाख ८२ हजार मत गन्दा उसले २ लाख ९४ हजार मत अर्थात् २.८३ प्रतिशतमात्र मत ल्याएको छ। अब समानुपातिकतर्फ अब करिब १ लाख मत गन्न बाँकी छ।

१ करोड ९ लाख मत खसेकोमा ५ लाखको हाराहारीमा मत बदर भएको आयोगका प्रवक्ता शलिग्राम शर्मा पौडेलले जानकारी दिए।

अहिलेसम्मको मत परिणामअनुसार एमाले २७ हजार ७३ हजार, कांग्रेसले २६ लाख ४४ हजार, माओवादी केन्द्रले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार मत पाएका छन्।

त्यसैगरी, जनता समाजवादी पार्टीले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत ल्याएर राष्ट्रिय पार्टी बनिसकेका छन्।

एकीकृत समाजवादीलाई पछ्याएको नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत ल्याउँदा महन्थ ठाकुर नेतृत्त्वको लोकतान्त्रिक समाजवादी पार्टीले जम्मा १ लाख ६७ हजार मत मात्र पाएको छ।

मंसिर १६, २०७९ शुक्रबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।