प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : रेखा शर्मा

बुटवल : दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन्।

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी स्वाभाविक रहेको बताएकी हुन्।

पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय, पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको शर्माले बताइन्।

उनले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित छलफल गरेर प्रधानमन्त्री टुङ्गिने बताइन्। उनले माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने प्रक्रिया दिँदै माओवादीलाई विश्वास गर्न आग्रह गरिन्।

पत्रकारहरूले गरेको सरकारमा शर्माको भूमिकाको विषयको जिज्ञासाको जवाफ दिँदै शर्माले पार्टीले जुनसुकै पद दिए पनि स्वीकार्दै त्यसको जिम्मेवारी पूरा गर्न सक्षम रहेको दाबी गरिन्। गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री भनिहाल्ने अवस्था नरहेको उनको तर्क छ।

एमालेका महासचिव शंकर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गरिन्।

यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्त्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन्। उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको बताइन्।

शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइन्। उनले युवाहरूको जबरजस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने बताइन्।

मंसिर १६, २०७९ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।