प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच भेट
काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार शिष्टाचार भेटघाट भएको छ।
भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे।
नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिए।
भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास उेनको छ।
भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक सिंह र महामहिम राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल समेत भएको थियो।
मंसिर १६, २०७९ शुक्रबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।