जग्गाको विषयमा झगडा हुँदा एक जनाको मृत्यु, घटनामा संलग्न ६ जना पक्राउ

धनुषा: जग्गाको विषयमा झगडा हुँदा एक जनाको ज्यान गएको छ। मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमीनको विषयमा वादविवाद भई भएको झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको हो।
कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ।
साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादवसमेत तीन जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मंसिर १६, २०७९ शुक्रबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।