विश्वकपमा आज समूह 'एच'अन्तर्गत उरुग्वे र घानाको रोचक भिडन्त

विश्वकपमा आज समूह 'एच'अन्तर्गत उरुग्वे र घानाको रोचक भिडन्त

काठमाडौं: कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज समूह 'एच'का खेलहरू हुँदैछन्। आज नेपाली समयअनुसार राति ८:४५ मा सो समूहका दुई खेल हुँदैछन्।

एउटामा पोर्चुगल र दक्षिण कोरिया भिड्नेछन् भने अर्कोमा उरुग्वे र घाना भिड्नेछन्। यो समूहबाट पोर्चुगल यसअघि नै दुई खेल जितेर ६ अंकका साथ अन्तिम १६ मा प्रवेश गरिसकेको छ। दक्षिण कोरियाले भने एक खेलमा बराबरी र अर्कोमा हारसहित तेस्रो स्थानमा छ।

यस्तै अर्को खेलमा उरुग्वे र घाना भिड्दैछन्। यी दुवै आज अन्तिम खेलमा जित निकाल्दै अन्तिम १६ मा पुग्ने दाउमा हुनेछन्।

यसअघि सन् २०१० को विश्वकपमा उरुग्वेका लुइस सुवारेजले हातले बललाई रोक्दै घानालाई सेमिफाइनल प्रवेश गर्न रोकेका थिए। यो घटना विश्वकपकै चर्चित र विवादास्पद मानिन्छ। घाना त्यसबेला सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेर इतिहास रच्ने दाउमा थियो। त्यसैले आज यी दुई टोलीबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ।

यस्तै आज राति १२:४५ मा पनि दुई खेल हुँदैछन्। सर्बिया र स्विट्जरल्याण्ड तथा क्यामरून र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल अन्तिम १६ मा पुगिसकेको छ भने अरू तीन टोलीमध्ये एक अन्तिम १६ मा पुग्न प्रयास गर्नेछ।

मंसिर १६, २०७९ शुक्रबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।