प्रधानमन्त्रीमा कांग्रेसको दावी अस्वाभाविक मान्न नहुने: माओवादी नेत्री शर्मा

काठमाडौं: माओवादी केन्द्रकी नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छिन्। उनले अहिले निर्वाचनको समानुपातिक मतपरिमाण आउने क्रम अझै जारी रहेकाले दलका नेतालाई बाहिरभन्दा पनि पार्टी र गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्रीको विषय टुङ्ग्याउन आग्रह गरिन्।
बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दावी गर्नुलाई अस्वभाविक मान्न नहुने बताइन्। उनले भनिन्, “अहिले ठूलो दलको हैसियतमा कांग्रेसले दावी गर्नुलाई अन्यथा मान्न मिल्दैन, तर बाहिरभन्दा पार्टी र गठबन्धनभित्रबाट आउनुपर्छ।”
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीमा दावी रहने पनि बताइन्।
पूर्वमन्त्रीसमेत रहेकी शर्माले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनकरूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने विचार व्यक्त गरेकी थिइन्।
मंसिर १६, २०७९ शुक्रबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।