रविको नागरिकताबारे छानबिनको जिम्मा प्रहरीलाई, काठमाडौं परिसरले सुरु गर्यो अनुसन्धान

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खारेज भएको नागरिकताको प्रयोग गरी दुरुपयोग गरेको उजुरीबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आएको पत्र प्रशासन कार्यालयले प्रहरीमा पठाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो।
युवराज सफलले रविको नागरिकता सम्बन्धमा छानबिनको माग गर्दै गृहमा उजुरी दिएका थिए। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर श्रेष्ठले गृहबाट सम्बन्धित निकायबाट अनुसन्धान अगाडि बढाउन पत्र आए अनुसार काठमाडौं परिसरमा पत्र पठाएको बताए।
काठमाडौं परिसरका प्रमुख एसएसपी भरत बोहोराले जिल्ला प्रशासन कार्यालयबाट रवि लामिछानेको नागरिकता सम्बन्धमा छानबिन गर्न पत्र आएको र सो प्रक्रियामा रहेको उकेरासँग बताए। चितवन-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेपछि रविको नागरिकता अवैध रहेको दाबी सहित निर्वाचन कार्यालयमा उजुरी परेको थियो।
उकेराको खोजमा उनले अमेरिकी नागरिक भएपछि खारेज भएको २०५० मा निकालेको नागरिकता नै प्रयोग गरिरहेको खुलासा गरेको थियो। निर्वाचन परिणाम आएपछि उम्मेदवारबारे परेको उजुरीबारे छानविन र निर्णय गर्ने अधिकार नभएको भन्दै आयोगका पदाधिकारी गम्भिर विवादबाट पन्छिदै रविलाई चितवन-२ मा निर्वाचित प्रमाण पत्र दिएको थियो।
उनले सन् २०१८ मा अमेरिकी नागरिकता त्याग्ने प्रक्रिया अगाडि बढाए पनि अमेरिकी पासपोर्ट लुकाएर सन् २०१५ मै नेपाली पासपोर्ट लिएको तथ्य उकेराले प्रमाण सहित सार्वजनिक गरेको थियो। उनले हालसम्म सोही पासपोर्टको प्रयोग गर्ने गरेका छन्।
उनले खारेज भइसकेको नागरिकताकै आधारमा मतदाता सूचीमा नाम समेत दर्ता गरेका थिए। उनको मतदाता सूचीमा श्रीमतीको नाम निकिता पौडेल भएकाले उनले अमेरिकी नागरिकको कानुनी हैसियत त्यागेपछि नेपालमा खारेज भएको नागरिकता नब्युताई मतदाता सूचीमा नाम दर्ता गरेको पुष्टी हुन्छ।
रविले निरन्तर खेलीरहे कानुनमा
विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै परिवारमा बढेको किचलोले दिक्क भएर रवि अमेरिकी नागरिको हैसियतमा नातेदार भिषामा नेपाल फर्किएका थिए। उनी नेपाल फर्किएपछि न्यज २४ टेलिभिजनमा सबैभन्दा लामो समयसम्म टक शो चलाएर गिनिस वर्ल्डको रेकर्ड राखेका थिए।
उनले आफु अमेरिकी नागरिक भएको तथ्य लुकाए। कानुनी दायित्व अनुसार अमेरिकी नागरिक बने लगत्तै नेपाली नागरिकता त्याग्न सम्बन्धित दुतावास वा जिल्ला प्रशासन कार्यालयमा दिनुपर्ने निवेदन दिएनन्।
अमेरिकी नागरिक रहेको तथ्य लुकाएरै उनले सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राखेर कार्यक्रम चलाए। ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई कार्यक्रम सञ्चालकबाट हटाएर बबिन शर्माले चलाए। रविले सामाजिक सञ्जालमा यसको विरोध गरेका थिए।
उनी न्युज २४ टेलिभिजनमा गएर प्रधानमन्त्रीको साटो जनता केन्द्रित' भएर सिधा कुरा जनतासँग' कार्यक्रम चलाए। पत्रकारिताको संहिता मिच्दै आफ्नै न्यायाधीश झैँ बन्दै आक्रामक शैलीमा चलाउने कार्यक्रम विवादमा पर्ने गरे पनि दर्शकले रुचाए। विदेशमा अलपत्र परेका नेपालीको उद्धार लगायतका विषयमा उनले प्रशारण गरेको कार्यक्रमको लोकप्रियताले उनको संहिता विपरितको कामलाई ओझेलमा पार्यो।
उनी अमेरिकी नागरिकको हैसियतमा नेपाल आएर अध्यागमन कानुन, श्रम कानुन सबैको उलंघन गरेका थिए। उनले आफ्नो कानुन विपरितका कामको ढाकछो गर्न थाले। यहीबाट उनको कानुन मिच्ने यात्रा सुरु भयो।
अध्यागमन कानुनको उलङ्घन
अध्यागमन विभागबाट उनी गैर पर्यटक नातेदार भिसामा नेपालमा सन् २०१८ अक्टोबर ४ अर्थात् २०७९ असोज १८ सम्म बस्न पाउने अनुमति पाएका थिए।
अध्यागमन नियमावली २०५१ अनुसार नेपाली मूलका विदेशी वा नेपाली बाबु वा आमाको विदेशी राहदानी वाहक सन्तान नेपालमा कुनै नातेदार भेट्न आउने भएमा वा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशीका बाबु, आमा, दाजु, भाइ, दिदी वा बहिनी सम्बन्धित दूतावासको नाता खुलेको सिफारिस सहित भेट्न आउन नातेदार भिसा पाउन सकिन्छ।
उनले पाएको भिसा यही हो।
अनि नियमावली को नियम २० अनुसार पर्यटक र नातेदारको भिसामा नेपालमा बस्ने व्यक्तिले पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउने छैन' उल्लेख छ।
नियमावलीमा' यस नियमावली अनुसार भिसा प्राप्त गर्ने व्यक्तिले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न नपाइने उल्लेख छ। उनी नातेदार भिसामा नेपाल आएकोमा कुनै शङ्का रहेन। तर उनले नियमावलीको उलङ्घन गर्दै सरकारी टेलिभिजनदेखि निजी टेलिभिजनसम्ममा काम गरे। यसलाई बाध्यताको लेपन लगाए।
राज्य संयन्त्र उनले उलङ्घन गरेको कानुन अनुसारको दण्ड सजायमा जान हच्किए। प्रभावशाली कार्यक्रम र कट्टर समर्थकको आडमा कानुनी कारबाहीबाट जोगिए।
श्रम स्वीकृति विना नै काम
उनले विदेशी नागरिकहुँदा श्रम स्वीकृति लिएर नेपालमा काम गरेको दाबी गर्ने गरेका थिए। तर नेपालको श्रम ऐनले नेपालमा उपलब्ध जनशक्ति भएसम्म त्यही कामका लागि विदेशी नागरिकलाई काम गर्ने अनुमति दिने प्रावधानै छैन।
यदि पर्याप्त नेपाली जनशक्ति भएकै क्षेत्रमा काम गर्न कुनै विदेशी नागरिकले अनुमति पाए त्यस्तो अनुमति दिने सरकारी अधिकारीमाथि अख्तियारको दुरुपयोगको कसुर आकर्षित हुने कानुनी प्रावधान छ। तर उनले आफूलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै कार्यक्रममार्फत आफ्नो प्रतिरक्षा गरे।
आफ्ना समर्थकलाई उत्तेजित गराए। उनका समर्थकले उनीमाथि अनुसन्धान गरिरहेका प्रेस काउन्सिल नेपालका तत्कालिन अध्यक्ष किशोर श्रेष्ठमाथी सामाजिक सञ्जालमार्फत निरन्तर आक्रमण गरिरहे। अनुसन्धान निष्कर्षमै पुग्न सकेन। त्यतिकै सेलायो।
नागरिकता ऐनको उलङ्घन
उनले अमेरिकी नागरिक बने लगत्तै अमेरिकास्थित नेपाली दूतावासमा आफू अमेरिकी नागरिक बनेकाले नेपालको कानुन अनुसार नेपाली नागरिकता निष्क्रिय गराउन उनले निवेदन दिएनन्। उनी पारिवारिक भिसामा नेपाल आएर अमेरिकी नागरिकता र अमेरिकी पासपोर्ट छाडेर २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उनको नाममा जारी भएको नागरिकताको दुरुपयोग गर्न थाले।
यही नागरिकताको प्रयोग गरेर उनले गरेका आर्थिक गतिविधि सार्वजनिक भएका छैनन्। श्रम स्वीकृति नै नलिई अमेरिकी नागरिकको हैसियतमा नेपालमा काम गरेर श्रम ऐनको उलङ्घन गरे र नातेदार भिसाले रोक लगाएको गतिविधि गरेकोमा अध्यागमन कानुन अनुसार कारबाही हुन सक्थ्यो उनीमाथि। प्रक्रिया अगाडि बढेको पनि थियो। तर बिचैमा रोकियो। कारबाही भएन।
उनले गृह मन्त्रालयको रेकर्डमा दर्ता खारेज भइसकेको नागरिकता प्रयोग गरेर नागरिकता सम्बन्धी ऐन, निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचन आयोग सम्बन्धी ऐन उलङ्घन गरेको पुष्टि भइसकेको छ।
त्यही नागरिकता प्रयोग गरेर उनले राहदानी निकालेर अध्यागमन ऐन समेत उलङ्घन गरेको खुल्यो। उनले खारेज भएकै नागरिकता प्रयोग गरेर निर्वाचन आयोगमा पार्टी दर्ता गरे। काठमाडौं क्षेत्र नम्बर ३ बाट मतदाता सूचीमा नाम दर्ता गराए।
नेपाली नागरिक मात्रै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधान रहे पनि उनी दर्ता खारेज भएको नागरिकता पेस गरेर चितवन-२ बाट उम्मेदवार बने र जिते।
निर्वाचन आयोगमा उजुरी पनि पर्यो। आयोगको अनुसन्धानमा उनले दल दर्तादेखि उम्मेदवारी दर्तासम्म प्रयोग गरेको नागरिकता गृह मन्त्रालयले दर्ता खारेज गरिसकेकै नागरिकता भएको खुल्दा पनि 'निर्वाचन परिणाम आएको' भन्दै उजुरीमा कुनै निर्णय गरेन।
राहदानी ऐनको उलघंन
रविले २०१४ मा अमेरिकी राहदानी लिएको पुष्टी भइसकेको छ। उनी सोही राहदानी प्रयोग गरेर नेपाल आएर नातेदार भिसामा। सन् २०१४ मा जारी भएको राहदानीको म्याद २०२४ सम्म थियो। प्रेस काउन्सिल नेपालमा परेको उजुरीको छानविनकोक्रममा उनी अमेरिकी नागरिक रहेको खुलासा भएसँगै कानुनी कारबाहीबाट जोगिन उनले अमेरिकी नागरिकको कानुनी हैसियत सरेन्डर गरे नेपालस्थित अमेरिकी दुतावासमा। उकेराले पाएको विवरणमा सन् २०१८ मै उनको अमेरिकी नागरिकको कानुनी हैसियत खारेज भएको देखियो।
उनले अमेरिकी नागरिक भएको कानुनी हैसियत सन् २०१८ मा सरेन्डर गरेका हुन्। तर उनी नेपाल आए लगत्तै नेपालबाट जारी भएको नागरिकता जुन अन्य देशको नागरिक भए लगत्तै निस्कृय भयो त्यही प्रयोग गरेर सन् २०१५ मै नेपाली राहदानी लिएका थिए।
अध्यागमन ऐनले यसरी ढाँटेर राहदानी लिएको पुष्टी भएमा तीन वर्षसम्म कैद हुनसक्ने प्रावधान छ।
रवि प्रकरणमा उकेराको फलोअप
मंसिर १६, २०७९ शुक्रबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।