साप्ताहिक शेयर समीक्षा: कारोबारले गर्दैछ बजार तल झर्न नमानिरहेको सङ्केत

साप्ताहिक शेयर समीक्षा: कारोबारले गर्दैछ बजार तल झर्न नमानिरहेको सङ्केत

यस साता पहिलो कारोबार दिन शेयर बजार सकारात्मक देखिएको थियो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो। नेप्से परिसूचक ३२.४३ विन्दुले बढेर १९६५.९८ अंकमा उक्लिएसँगै करिब दुई अर्ब रुपैयाँको कारोबार भएको थियो।

अहिले बैंकहरूको सीडी रेसियो ८६ को लाइनमा आइसकेको छ। बैंकमा निक्षेप बढ्ने क्रम पनि सँगसँगै बढिरहेको छ।

दोस्रो कारोबार दिन सोमबार भने नेप्से परिसूचक केही अंक घटेर बन्द भएको थियो। आइतबार सार्वजनिक भएको राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापश्चात् बजार बढ्ने अपेक्षा गरिएको थियो। तर, बजारले अपेक्षाको विपरीत बाटो लियो।

बजार घट्नुसँगै कारोबार रकम पनि घट्यो। नेप्से परिसूचक १५.६१ अंक घटेर १९५०.३७ विन्दुमा पुग्यो भने कारोबार रकम एक अर्ब ४९ लाख ४३ हजार रुपैयाँमा खुम्चियो।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको थियो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको थियो।

तेस्रो कारोबार दिन अर्थात् गत मंगलबार नेप्से परिसूचक दिनभर ओर्लिएर र निकै उतारचढाव व्यहोरेर अन्ततः थोरै सकारात्मक विन्दुमाथि पुगी बन्द भएको थियो। 

अर्थात् नेप्से परिसूचक २.९८ अंकले बढेर १९५३.३६ विन्दुमा पुगेको थियो। शेयर कारोबार रकम भने अघिल्ला दुवै दिनको भन्दा घटेको देखियो। यस दिन ९५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको हो।

चौथो कारोबार दिन बुधवार नेप्से थोरै अंकले ओरालो लागेर बन्द भयो। यस दिन नेप्से परिसूचक ३.५० अंकले घटेर १९४९.८५ विन्दुमा पुगेर रोकियो। 

जम्माजम्मी मात्रै ८४ करोड २६ लाख रुपैयाँको शेयर कारोबारले बजार तल झर्न नमानिरहेको अवस्थातर्फ सङ्केत गर्दथ्यो। 

नेप्से परिसूचक ओर्लन खोज्दा शेयर कारोबार पनि घट्नु र नेप्से परिसूचक उक्लन खोज्दा शेयर कारोबार पनि बढ्न खोज्नु नेप्से तल ओर्लन नमानेको सङ्केत हो।

पाँचौँ कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०७ विन्दुमा पुगेर बन्द भयो। 

यस दिन एक अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएको छ। अर्थतन्त्रको बागडोर सम्हालेर बसेका अर्थमन्त्री तथा राष्ट्रबैंकका गभर्नर जस्ता व्यक्तिहरूले मुलुकको अर्थतन्त्रका बारेमा सकारात्मक दिशामा अगाडि बढेको बताएपछि पूँजीबजारका लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको जानकारहरूको विश्लेषण छ।

साताभरिको समग्र शेयर बजारलाई दृष्टिगत गर्दा अघिल्लो साता १९३३.५५ मा बन्द भएको नेप्से यो साताको अन्तिम कारोबार दिनमा १९६१.०७ मा पुगेर बन्द भएको छ। 

अर्थात् अघिल्लो साताको तुलनामा यो नेप्से परिसूचक २७.५२ विन्दुले उकालो लागेको छ। अघिल्लो साताभन्दा यस साता कारोबार रकममा पनि बढोत्तरी भएको देखिन्छ जुन शेयर बजारका लागि शुभसङ्केत हो। 

तर, यसै साताको आइतबार नेप्से परिसूचक जुन विन्दुमा पुगेको थियो त्यो विन्दुमा भने साताको अन्तिमसम्म पनि पुग्न सकेन।

हुन त शेयर बजारको बाटो सधैँ एकनासको हुँदैन। एकनास गतिमा उकालो लाग्यो भने उसरी नै ओरालो लाग्ने सम्भावना हुन्छ। त्यसैले हलुका तलमाथि हुँदै अगाडि बढ्नु सकारात्मक भएको शेयरबजारका विश्लेषकहरू बताउँछन्।

यसले अर्को साता बजारले सजिलै सो विन्दु पार गरेर अगाडि बढ्ने आकलन गर्न सकिन्छ।

ब्याजदर स्याचुरेटेड अवस्थामा पुगिसकेको अवस्था छ। यसको अर्थ अब बैंकको ब्याजदर विस्तारै ओरालो लाग्न सुरु हुनेछ। बैंकको ब्याजदरसँग नेप्से परिसूचकको सम्बन्ध व्युत्क्रमानुपाति हुने हुँदा यसले पनि अब बजार विस्तारै उकालो लाग्ने देखिन्छ। 

बैंकहरूमा निक्षेप बढ्न सुरु भएको छ तर ब्याजदर चर्को भएको कारणले सोही अनुपातमा ऋण लगानी हुन सकेको छैन। यसले पनि शेयर बजारलाई प्रभावित पारिरहेको छ।

हुन त शेयर बजारको बाटो सधैँ एकनासको हुँदैन। एकनास गतिमा उकालो लाग्यो भने उसरी नै ओरालो लाग्ने सम्भावना हुन्छ। त्यसैले हलुका तलमाथि हुँदै अगाडि बढ्नु सकारात्मक भएको शेयरबजारका विश्लेषकहरू बताउँछन्।

मंसिर १६, २०७९ शुक्रबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।