विश्वकपमा अप्रत्यासित नतिजा: स्पेन पराजित, बेल्जियम र जर्मनी समूह चरणबाटै 'आउट'

विश्वकपमा अप्रत्यासित नतिजा: स्पेन पराजित, बेल्जियम र जर्मनी समूह चरणबाटै 'आउट'

काठमाडौं: यस संस्करणको विश्वकप फुटबलमा सुरुदेखि अप्रत्यासित नतिजाहरू देखिएको छ। आफ्नो पहिलो खेलमा 'फुटबल जायन्ट' अर्जेन्टिना साउदी अरेबियासँग हार्न पुग्यो। यस्तै जर्मनीले पनि आफ्नो पहिलो खेलमा जापानसँग पराजित भयो।

अघिल्लो संस्करणको विजेता फ्रान्स पनि ट्युनिसियासँग हारेको थियो भने अघिल्लो संस्करणमा तेस्रो भएको बेल्जियम पनि मोरक्कोसँग हारेको थियो।

यस्तै अप्रत्यासित नतिजाले भरिएको यो विश्वकपमा गए राति स्पेन पनि पराजित भयो। जापानले स्पेनलाई २-१ गोलअन्तरले हरायो। जापान विजयी हुँदै अन्तिम १६ मा पुग्यो भने स्पेन खेल हारे पनि समूह 'ई'को उपविजेता हुँदै अन्तिम १६ मा पुग्यो।

जापानको लागि रित्सु डोन र एओ टानकाले एक-एक गोल गरे। स्पेनका लागि अल्भारो मोराटाले एक गोल गरेका थिए।

यसपटक विश्व फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी र बेल्जियम समूह चरणबाटै बाहिरिएका छन्। कोस्टारिकालाई ४-२ गोलअन्तरले पराजित गरे पनि जापानले स्पेनलाई हराएपछि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।

समूह 'एफ'मा रहेको बेल्जियम पनि विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेपछि बेल्जियमको विश्वकप यात्रा टुङ्गिएको हो।

यो समूहबाट विजेता हुँदै मोरक्को र उपविजेता हुँदै क्रोएसिया अन्तिम १६ मा पुगे।

मंसिर १६, २०७९ शुक्रबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।