ग्रिजम्यानले गोल गरेपछि टिभीले लाइभ काट्याे, झुक्किए लाखौं फ्रान्सेली दर्शक

ग्रिजम्यानले गोल गरेपछि टिभीले लाइभ काट्याे, झुक्किए लाखौं फ्रान्सेली दर्शक

एजेन्सी : टेलिभिजनमा विश्वकप हेर्ने फ्रान्सका अधिकांश दर्शकहरू बिहीबार बिहान अचम्ममा परे।

विश्व च्याम्पियन बनेको फ्रान्स ट्युनिसियासँग १–० गोलले पराजित भएको उनीहरूले बिहीबार विहानमात्र थाहा पाए।

अधिकांश दर्शकले एन्टोनी ग्रिजम्यान अन्तिम समयमा खेल बराबरी गरेको भन्ठाने। ग्रिजम्यानले गरेको गोलपछि अन्तिम सिट्टी बजेको भन्ठानेर ब्रोडकास्टर टीफवान टेलिभिजनले विज्ञापन बजायो।

रेफ्री म्याथू कांगरलाई भीएआरले ढिलोगरी पिचसाइडमा भएको मोनिटर हेर्न बोलाए। मोनिटरमा ग्रिजम्यानले गरेकाे गाेल हेरिसकेपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन्।

तर, टीएफवान टेलिभिजनले स्टेडियममा भइरहेकाे खेलकाे फिड देखाउनुको साटो आफ्नो ‘वर्ल्डकप म्याग’ नामक पाेस्टम्याच शो देखाउन थाल्यो। उक्त शोमा टेलिभिजनले फ्रान्सका समर्थकले खुसी मनाएको र ट्युनिसियाका समर्थक निराश भएको फुटेज चलिरह्याे। यद्यपि ग्रिजम्यानले गरेकाे गाेललाई मान्यता दिएकाे फिड देखाइएन।

घटनापछि टेलिभिजनले सामाजिक सञ्जालमार्फत हतार गरेर विश्वकपको फिड काटेकोमा माफी मागेको छ। ‘वर्ल्डकप म्याग’ शोका पत्रकार ग्रेजायर मार्गोटनले दर्शकसँग च्यानलमा भएकाे त्रुटिबारे जानकारी गराए।

‘हामी खेल सकियो भन्नेमा विश्वस्त थियौं, हरेक मानिस लकर रूममा गइरहेका थियाैं,’ उनले भने, ‘लामो समयसम्म न्यूजिल्याण्डका रेफ्री कांगरले भीएआरसँगको परामर्श गरिरहे, उनले धेरै लामो समयपछि मात्र एन्टोनी ग्रिजम्यानको गोललाई अफसाइड बताएका रहेछन्।’

मंसिर १५, २०७९ बिहीबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।