'खोला किनार अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र खाली गर्नू'

'खोला किनार अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र खाली गर्नू'

काठमाडाैं : काठमाडाैं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ।

प्राधिकरणले बुधबार सार्वजनिक सूचना निकालेर काठमाडाैं उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ।

तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ।

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ।

सोमबार काठमाडाैंकाे थापाथली सुकुम्वासी बस्तीमा काठमाडाैं महानगर तथा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो।

महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढासमेत गरेका थिए।

यसअघि बागमती सभ्यता एकीकृत विकास समितिले बागमती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियाे। तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित  सुकुम्वासी बस्तीमा पुगेकाे थियाे।

मंसिर १४, २०७९ बुधबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।