जनमत र जसपाले संसदमा दलको हैसियत पाउँदा एकीकृत समाजवादीलाई अझै सकस

काठमाडौं : मधेशवादी दल जनमत पार्टी र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्दा माधवकुमार नेतृत्त्वको एकीकृत समाजवादीलाई अझै सकस देखिएको छ।
मंगलबार राति १० बजेसम्म ९९ लाख ८८ हजार ३९७ मत गणनाको परिणाम सार्वजनिक हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार मत मात्र ल्याएको छ। यो २.८४ प्रतिशत हो।
संसदीय व्यवस्थामा तीन प्रतिशतको थ्रेसहोल्ड नकटाएका दल राष्ट्रिय दल नहुने र ती दलका प्रत्यक्षतर्फ निर्वाचित सांसद् स्वतन्त्र सांसदसरह हुने संवैधानिक व्यवस्था छ।
उता सिके राउत नेतृत्त्वको जनमत पार्टीले ३ लाख ४६ हजार र जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार मत कटाइसकेको छ।
समानुपातिकबाट संसद् प्रवेश गर्ने दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले रहेका छन्।
राप्रपाले ५ लाख ६९ हजार मत ल्याउँदा रास्वपाले १० लाख ९८ हजार, माओवादी केन्द्रले ११ लाख ५३ हजार, कांग्रेसले २५ लाख ४६ हजार र एमालेले २६ लाख ९२ हजार मत ल्याएको छ।
मंसिर १३, २०७९ मंगलबार २२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।