चुनावअघि नरम देखिएका ओली नतिजासँगै राष्ट्रिय स्वतन्त्र पार्टीसँग किन भड्किए?

काठमाडौं : कात्तिक २८ मा चितवन पुगेका एमाले अध्यक्ष केपी ओली राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन-२ मा उम्मेदवार बनेका रवि लामिछानेप्रति नरम देखिएका थिए।
उनी चितवनको सभामा सम्बोधन गर्नुअघि लामिछानेको चुनावी प्रचारमा संलग्न एक गाडी फोडियो। दोष पाँच दलीय गठबन्धनको उम्मेदवारले पाए।
सभामा उनी रवि अनि उनको नेतृत्त्वकाे पार्टीप्रति नरम देखिँदै भनेका थिए ‘ढ्यांग्रो बजाएको छैन, घन्टी पनि बजाउन नदिने? अनि ढुंगा हान्न जाने ?’
चितवन–२ बाट रवि मात्र निर्वाचित भएनन्, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट जित्यो। समानुपातिकमा १४ सिटसम्म ल्याउने सम्भावना छ।
रास्वपा निकट स्रोतकाअनुसार मतगणनाको प्रारम्भिक रुझानको बेलामा बसेको रास्वपा रविनिकट नेताहरूको बैठकले ३५ सिटसम्म आउने आँकलन गर्दै सरकारमा जान परे पहिलो प्राथमिकता एमाले र त्यो सम्भव नभए गगन थापा प्रधानमन्त्री हुने सर्तमा कांग्रेससँग पनि मिल्नसक्ने अनौपचारिक निष्कर्ष निकालेको थियो।
चितवन–२ को मतगणना जारी रहेकै बेलामा रविले सञ्चारकर्मीले राखेको सरकारमा सहभागीताबारेको जिज्ञासामा पार्टीको सिट संख्या नखुलाए पनि जुन दलले सरकार बनाए पनि आफ्नो पार्टीलाई इग्नोर गरेर जान नसक्ने दावी गरेका थिए।
जितपछि त रविले चुनावमा गठबन्धन नगरे पनि सरकार बनाउन सहयोग चाहिए गठबन्धन गर्न तयार रहेको सन्देश नै दिए। पछिल्लो समय एकाएक रवि र रास्वपाप्रति ओली अनुदार देखिएका छन्। उनी रवि अनको नेतृत्वको पार्टीप्रति आक्रामक देखिन थाले।
तीन दिनअघि उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो कुरा होइन, मामुली हो' भन्दै धेरै उदय भएको भनेर मिडियाले प्रचार गरेको दावी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको गन्तव्य के हो, के कार्यक्रम हो, के नीति हो? भन्ने प्रश्न गर्दै उनले हाहाहुहुमा देश नचल्ने बताएका थिए।
मंगलबार ओली पुन: रास्वपामाथि खनिएका छन्। राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाको फ्रिडम पार्टी र त्यसको चिन्ह दुरुस्त नेपाल ल्याएको भन्दै रविको आलोचना गरे। पनि लिएर आएका छन्।
'त्यो अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुम्प फुल्यो । केही त होला।त्यतापट्टि पनि धेरै नजाऔँ' उनले भने।
सरकारबारे द्वेध चरित्र
समानुपातिकको रुझान र घोषित प्रत्यक्षको सिट संख्याले एमाले दोस्रो दल हुने पक्का छ। उ पनि सरकार बनाउन चाहन्छ। तर, माओवादीको समर्थनविना सम्भव छैन। माओवादी इच्छुक देखिएको छैन। तर, ओलीले प्रयास छाडेका छैनन्।
कांग्रेस एमालेभन्दा करिव १० सिटले अगाडि देखिन्छ। गठबन्धनको सिट जोड्दा ४ सिटको अभाव देखिन्छ जुन समानुपातिक वा स्वतन्त्र सांसदको समर्थनबाट पूरा हुन्छ।
रास्वपा चौथो दल बन्ने पक्का छ। तर, सरकारबारे उसका नेतापिच्छे धारणा देखिन्छ। विराजभक्त श्रेष्ठ प्रतिपक्षमा बस्ने पक्षमा देखिएका छन्। पार्टीभित्र पाँच वर्ष प्रतिपक्षमै बस्नुपर्ने पक्षधर धेरै देखिएका छन्।
तर, रविसहित अरनिको पाण्डे, सोविता गौतम सरकारमा जानुपर्ने पक्षमा देखिएका छन्।
'नेमकिपा सरकारमा नजाँदा पनि उसको साख छ। पाँच वर्ष प्रतिपक्षमै बसौं भन्ने धेरैको मत छ' पछिल्लो छलफलबारे जानकार एक स्रोतले उकेरासँग भन्यो, 'तर उहाँ मेरो कानुनी विषय सेटल गर्न सरकारमा जानुपर्छ भन्ने लाइनमा हुनुहुन्छ।'
रविको नागरिकता सरकारी छानबिनको दायरामा आइसकेको छ। उनले अमेरिकी राहदानी हुँदा-हुँदै नेपाली राहदानी निकालेको समेत पुष्टि भइसकेको छ। दुवै प्रमाण उकेराले सार्वजनिक गरेको हो।
यसबारे रवि अनि उनको पार्टीका नेताहरू मौन छन्। अरनिको पाण्डेले भने एक टेलिभिजन कार्यक्रममा अप्रत्यक्ष रूपमा खारेज भएको नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा नभएको स्वीकारेका थिए।
किन भड्किए ओली ?
ओली प्रारम्भमा रविसँग सकारात्मक थिए। प्रारम्भिक चरणमा गठबन्धनको बहुमत नआउने देखेपछि उनी एमाले नेतृत्त्वमा सरकार बनाउने रणनीतिमा सक्रिए भए।
विष्णु रिमाल लगायतका उनी निकट नेताहरू मिडियामा अन्य पार्टीसँग मिलेर सरकार बनाउन एमाले सकारात्मक रहेको धारणा राख्न सक्रिय भए। केही वाम गठबन्धनको पक्षमा वकालतमा सक्रिय समेत भए।
मत परिणामको गति बढेसँगै एमालेको तालमेल भएका दल र रास्वपा मिलेर सरकार बन्ने सम्भावना सकियो। माओवादी निर्णायक भयो। यहीबीच रास्वपाले समेत सुत्रहरूमार्फत कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष सरकारमा सहभागी हुन तयार रहेको सन्देश पठाए। यो सूचना ओलीसमक्ष पुगेपछि उनी रास्वपासँग चिढिए।
'रास्वपाबाट सरकारमा सहभागी हुन सकारात्मक रहेको सन्देश आएको छ' बालुवाटार स्रोतले भन्यो, 'उनीहरूले मागेको मन्त्रालय संख्या सम्भव छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी रविसँग सकारात्मक नभएकाले तत्काल उनीहरूसहितको सरकार सम्भव छैन। गठबन्धनमा विवाद भएर अर्को कोर्समा गए मात्र सम्भव छ।'
मंसिर १३, २०७९ मंगलबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।