कपिलवस्तुमा ३७ हजारभन्दा बढी मत बदर

कपिलवस्तुमा ३७ हजारभन्दा बढी मत बदर

काठमाडौं: प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कपिलवस्तुमा ३७ हजारभन्दा बढी मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार ७३६ मत बदर भएको हो।

प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १३ हजार ४५६ मत बदर भएको छ भने प्रदेश सभामा ११ हजार १४३ मत बदर भएको पन्थीले जानकारी दिए। तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधि सभामा ५.३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेश सभा (क)मा ४.३२ प्रतिशत र (ख) मा ५.८१ प्रतिशत मत बदर भएको छ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ। प्रतिनिधि सभातर्फ ३.८१ प्रतिशत मत बदर हुँदा प्रदेश सभा (क) मा २.६० प्रतिशत र (ख) मा ४.६५ प्रतिशत मत बदर भएको छ।

क्षेत्र नं १ मा ५.८७ प्रतिशत मत बदर भएको छ। प्रदेशतर्फ (क) मा ३.८१ प्रतिशत र (ख) मा ५.६४ प्रतिशत मत बदर छ।

यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिकतर्फ क्षेत्र नं १ मा ५.३३ प्रतिशत, क्षेत्र नं २ मा ४.१८ प्रतिशत र क्षेत्र नं ३ मा ५.९९ प्रतिशत मत बदर भएको छ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ। “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उनले भने।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार २३२ रहेकामा दुई लाख ५३ हजार ५०९ मत खसेको थियो। जिल्लामा ६७.२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताइन्।

मंसिर १३, २०७९ मंगलबार ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।